काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर निकै भाईरल भईरहेको छ । जुन तस्बिरले तारिफ र प्रशंसा दुवै बटुलिरहेको छ । तस्बिर मा हामीले देख्न सक्छौं कि स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेका छन् ।
सञ्जालमा भाईरल भईरहेको उक्त भिडियो प्युठानको ऐरावती गाउँपालिका- ६, काल्नेको हो। काल्नेकी ३० वर्षीय जिवा विश्वकर्मालाई राति एक्कासी सुत्केरी व्यथाले च्याप्यो। प्रशव पिडा सहेरै आमासँग आफैं हिँडेर उनी मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानीस्थित चुजाँठाँटी स्वास्थ्य चौकी आइन् र भर्ना भइन्।
सात जना कर्मचारी रहेको यस स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पोख्रेलमात्रै पुरुष कर्मचारी हुन् भने बाँकी ६ जना नै महिला कर्मचारी छन्।
सबै मिलेर जीवाको स्वास्थ्य स्थिति जाँची उनलाई व्यथा सहन ढाडस दिए र प्रसूतिको प्राथमिक कर्म गरे। जीवाले राति १० बजेतिर छोरीलाई जन्म दिइन्। नर्मल डेलिभरी भएपछि स्वास्थ्य चौकीका सबै कर्मचारी खुसी नहुने कुरै भएन।
आमा र बच्चाको आवश्यक उपचारपछि उनलाई २४ घन्टासम्म सोही अस्पताल वा स्वास्थ्य संस्थामै राखी घर जान सल्लाह दियो। तर, उनी आफै हिँडेर घर जान सक्ने अवस्था थिएन। एक्ली आमाले उनी र बच्चालाई लैजान सक्ने अवस्था झनै रहेन।
लगातारको झरीले बाटो बिगारेकाले यातायातका साधन आउने स्थिती थिएन। गाउँका युवाहरू बोलाउ भनेपनि घरमा छैनन्। उनका श्रीमान् भारतमा रोजगारी गर्छन्। अब के गर्नेरु स्वास्थ्यकर्मीहरू पनि अलमल परे। अरु कुनै उपाय नभएपछि आफै बोकेर सुत्केरीलाई घरसम्म लैजाने निधो स्वास्थ्यकर्मीहरुले गरे।
वर्षाले सडक बिग्रिएको र गाउँमा युवाहरूसमेत नभएका कारण सुत्केरी महिलालाई स्वास्थ्यकर्मीहरूले बोकेरै घरसम्म पुर्याएको धरमपानी स्वास्थ्य चौकीका इन्चार्ज टुकाराम पोख्रेलले बताउँछन्। ‘भर्खरकी सुत्केरीलाई हिँडाउँदा झन जोखिम हुने देखेर बोक्न तयार भयौं’ उनले भने,’सडक अवरुद्ध थियो। गाउँमा युवा भेटिएनन्। अनि बोक्न स्टेचर उठायौं।’
सुत्केरी जिवाको घरदेखि धरमपानी स्वास्थ्य चौकी करिब एक घण्टाको दूरीमा छ। साढे २ किलोमिटर अफ्ठेरो बाटोमा बोकेर सुत्केरीलाई घर पुर्याइएको उनले सुनाए। ‘स्वास्थ्य चौकीमा ७ जना कार्यरत छौं’ उनले भने,’एक जना सिस्टरलाई कार्यालयमा छोडेर अरु सबै सुत्केरी बोक्न गयौं।’ बाटोमा स्वास्थ्यकर्मीहरूले सुत्केरी बोकेको देखेर पनि कोही मान्छेले पनि सहयोग नगरेको इन्चार्ज पोखरेलले गुनासो गरे। उनले भने,’बाटोमा मान्छेहरूले हामीलाई हेरिरहे। सहयोग गर्न आएनन्।’
झिमरुक गाउँपालिका वडा नम्बर १ बिरडाँडाकी २९ वर्षीया अनमी पार्वती पुनले आलो सुत्केरीले उठाउन खोजेको जोखिम देखेर आफूमा मानवताको भाव जागेको बताइन्।
‘उहाँले आधा बाटोसम्म जान अटोलाई पाँच सय भाडा तिर्नु भन्दा बरू म हिँडेरै जान्छु र त्यो पैसाले एक क्यारेट अण्डा किनेर खान्छु भन्ने कुरा गरेकी हुँदा हाम्रो मन पग्लियो,’ उनले भनिन् ‘जीवाको कमजोर आर्थिक अवस्था रहेछ। बस्ती पनि पातलो रहेछ। गाउँमा पुरुष पनि रहेनछन्। वर्षाले बाटो पनि बिगारेकाले किन सहयोग नगर्ने भन्ने सोच आयो। आलोपालो हामीले काँधमा बोकेर उहाँलाई घरमै पुर्यायौं।’
सुत्केरीलाई स्ट्रेचरमा राखेर लैजाँदै गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ भने सबैले प्रशंसा समेत गरेका छन्।



प्रतिक्रिया