काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ६ ले विशेष आवश्यकता भएका बालबालिकाहरूको शिक्षालाई प्राथमिकता दिँदै अटिजम विशेष विद्यालय भवनको शिलान्यास गरेको छ। शुक्रबार एक विशेष कार्यक्रमका बीच स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालय भवनको जग बसालिएको हो। नगरपालिकाले सामाजिक समावेशीकरण र अपाङ्गता भएका बालबालिकाहरूको उज्यालो भविष्यका लागि यो महत्वपूर्ण कदम चालेको हो। वडा कार्यालयका अनुसार यो विद्यालय निर्माण सम्पन्न भएपछि अटिजम भएका बालबालिकाहरूले स्थानीय स्तरमै गुणस्तरीय र विशेष शिक्षा प्राप्त गर्न सक्नेछन्। स्थानीय बासिन्दाहरूले वडाको यस कार्यलाई शिक्षा क्षेत्रमा एक ऐतिहासिक सुरुवातको रूपमा लिएका छन्।
नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा संयुक्त रूपमा भवनको शिलान्यास गरिएको हो। कार्यक्रममा नगरपालिकाका वडाध्यक्ष वडा सदस्य तथा नगर प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, कर्मचारी, स्थानीय बासिन्दा, समाजसेवी तथा सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले अटिजम भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सामाजिक समावेशितालाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न योजना अघि बढाइरहेको बताउनुभयो। उहाँले निर्माण हुन लागेको भवनले अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई आवश्यक सेवा, परामर्श र सहजीकरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी उपप्रमुख अनिता लामाले विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि सुरक्षित, सहज र सहयोगी वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै नगरपालिकाले समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले अटिजमसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा परिवारलाई सहयोग पुर्याउन यस्ता पूर्वाधार आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा स्थानीयवासीहरूले अटिजम भएका बालबालिकाका लागि नगरपालिकाले सुरु गरेको पहलप्रति खुसी व्यक्त गर्दै भवन निर्माणले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए।




प्रतिक्रिया