काठमाडौँ । नेपाल यतिबेला सुरुङ युगमा प्रवेश गर्ने तरखरमा छ । सडक यातायातलाई सुरक्षित, छोटो र झन्झटमुक्त बनाउन सरकारले सुरुङ मार्गलाई प्राथमिकतामा त राखेको छ, तर योजना र कार्यान्वयनबीचको खाडल भने निकै गहिरो देखिएको छ ।
हालसम्म सरकारले २१ वटा सुरुङ मार्गका आयोजनाहरूलाई प्राथमिकताको सूचीमा राखेको भए पनि तीमध्ये अधिकांशको अवस्था कागजी मात्रै छ ।
पाँच आयोजनामा धमाधम काम
सुरुङ निर्माणको कुरा गर्दा नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग अहिले सबैभन्दा उत्साहजनक चरणमा छ । नेपालको पहिलो आधुनिक सडक सुरुङको रूपमा चिनिने यस आयोजनाको ब्रेक-थ्रुु भइसकेको छ भने हाल फिनिसिङका कामहरू भइरहेका छन् ।
त्यस्तै, काठमाडौँ-तराई द्रुतमार्ग ९फास्ट ट्र्याक० मा सबैभन्दा धेरै सुरुङहरू निर्माणाधीन छन् । बुटवल-पाल्पा खण्डको जोखिमपूर्ण सिद्धबाबा क्षेत्रमा पनि सुरुङ निर्माणले गति लिएको छ । हालसम्म २१ मध्ये केवल ५ वटा आयोजना मात्रै निर्माणको भौतिक चरणमा पुगेका छन् ।
१६ आयोजनाः अध्ययनमै अल्झिएको भविष्य
सरकारले ठूलो तामझामका साथ घोषणा गरेका १६ वटा सुरुङ आयोजनाहरू अझै पनि अध्ययन र सम्भाव्यता खोजीको फाइलमै थन्किएका छन् ।
चर्चा धेरै, प्रगति शून्यः लामो समयदेखि चर्चामा रहेको हेटाौंडा-काठमाडौँ, पोष्टबहादुर बोगटी सुरुङ मार्गको प्रगति अझै अन्योलमा छ ।
अध्ययनमै सीमित: लामिडाँडा-हुम्सीकोट, विष्णुमती-साङ्लाखोला र बेतिनी-देउराली जस्ता आयोजनाहरू अध्ययनको चरणभन्दा माथि उठ्न सकेका छैनन् ।
टोखा–छहरेको अन्योलः उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वको टोखा-छहरे सुरुङ मार्गका सहायक योजनाहरू पनि फाइलमै अड्किएका छन् ।
चुनौतीका चाङः पैसादेखि प्रविधिसम्म
सुरुङ मार्ग निर्माणमा देखिएको सुस्तताको मुख्य कारण लगानी र प्रविधि हो । यो अत्यन्तै खर्चिलो विधा भएकाले नेपालले जाइका र एसियाली विकास बैंक जस्ता दातृ निकायको ऋणमा भर पर्नुपर्ने अवस्था छ ।
यसका साथै, नेपालको कमजोर भौगर्भिक बनावटका कारण खन्ने क्रममा आउने जटिलता अर्को बाधक हो । दक्ष प्राविधिक जनशक्तिको अभाव र मुआब्जा विवादले गर्दा निर्माणाधीन आयोजनाहरूको पनि समय र लागत निरन्तर बढिरहेको छ ।
आशाको त्यान्द्रो
१६ वटा आयोजनाहरू फाइलमै भए पनि नागढुंगा सुरुङ मार्गको सफलताले नेपाली प्राविधिकहरूमा नयाँ आत्मविश्वास जगाएको छ । हरेक वर्षको बजेटमा सुरुङ मार्गलाई प्राथमिकता दिइनुले आगामी एक दशकभित्र नेपालको सडक सञ्जालमा ठूलो रूपान्तरण हुने अपेक्षा भने जीवितै छ ।



प्रतिक्रिया