राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक भने बेपत्ता

राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक भने बेपत्ता


दाङको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदीमा फसेका दुई जनाको सशस्त्र प्रहरीले शनिबार सकुशल उद्धार गरेको छ । दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादव सो नदीको दोभान फसेका थिए । उनीहरुको सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौजले उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

त्यसैगरी दाङकै राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षीय राजकुमार यादवको खोजीकार्य भइरहेको थापाले बताए । उलाई पनि दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान सो नदीले बगाएको बताइएको छ ।

त्यस्तै दाङकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षीय गोरे क्षेत्रीको सकुशल उद्धार गरिएको डीएसपी थापाले जानकारी दिए ।