काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर उपत्यकामा रात्रिकालीन बस सेवा पुनः सञ्चालनमा ल्याएको छ। यसअघि पटक–पटक प्रयास भए पनि निरन्तरता पाउन नसकेको यो सेवा मंगलबार राति ८ बजेदेखि सुरु भएको हो।
महानगरले साझा यातायातसँगको सहकार्यमा सुरुवाती चरणमा केही निश्चित रुटहरूमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार उपत्यकाको ‘नाइट इकोनोमी’लाई चलायमान बनाउन र रात्रिकालीन सुरक्षालाई बलियो बनाउन यो कदम चालिएको हो।
विशेष कुरा त के छ भने यात्रुहरूले दिवा सेवाकै भाडादरमा रात्रिकालीन सेवा उपभोग गर्न पाउनेछन्।
कहाँ–कहाँ चल्छन् बस ?
महानगरले अस्पताल क्षेत्र र विमानस्थललाई प्राथमिकतामा राखेर दुईवटा रुट निर्धारण गरेको छ–
रुट १ः ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक, प्रसूतिगृह, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म।
रुट २ः थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म।
सुरक्षाका लागि बसभित्र सीसीटीभी क्यामेरा जडान गरिएको छ भने नगर प्रहरीको समेत व्यवस्था गरिएको गुरागाईंले जानकारी दिए। उनका अनुसार अहिले साझाका चारवटा विद्युतीय बसबाट सेवा सुरु गरिएको हो।
उपत्यकामा रात्रिकालीन बस चलाउने प्रयास यो पहिलो भने होइन। यसअघि तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा पनि यो सेवा सुरु भएर केही समयमै बन्द भएको थियो।
त्यस्तै, २०७६ सालमा साझा यातायात आफैँले न्युरोड गेटलाई केन्द्र बनाएर तीन रुटमा रात्रि सेवा सुरु गरेको थियो। तर, यात्रु अभाव र महँगो सञ्चालन खर्चका कारण त्यो प्रयास पनि सफल हुन सकेन।
लामो अन्तरालपछि महानगरले पुनः सुरु गरेको यो सेवा यसपटक कति प्रभावकारी र दिगो हुन्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ।



प्रतिक्रिया