रास्वपाभित्र शक्ति संघर्ष: रवि र बालेनबीच दूरी बढ्दो

रास्वपाभित्र शक्ति संघर्ष: रवि र बालेनबीच दूरी बढ्दो


काठमाडौँ । झण्डै दुई तिहाइ मतसहित सत्ताको बागडोर सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक कलह सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच उत्पन्न शक्ति संघर्षले रास्वपाभित्र पहिरो जाने खतरा बढेको हो ।

बाहिरबाट हेर्दा सबै सामान्य देखिए पनि भित्रभित्रै सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको ‘इगो’ ले उग्र रूप लिएको स्रोतको दाबी छ । पछिल्ला केही घटनाक्रमले पार्टी नेतृत्व र सरकार प्रमुखबीचको दूरीलाई स्पष्ट पारेको छ ।

दुई नेताबीचको टकरावको सुरुवात मन्त्री चयनबाटै भएको थियो । सभापति लामिछाने आफ्ना विश्वासपात्र डोलप्रसाद अर्याललाई गृहमन्त्रालयको जिम्मेवारी सुम्पिन चाहन्थे । तर, प्रधानमन्त्री बालेनले लामिछानेको प्रस्तावलाई अस्वीकार गर्दै सुदन गुरुङलाई गृहमन्त्री नियुक्त गरे । पार्टी सभापतिको सिफारिसलाई प्रधानमन्त्रीले ‘रद्दीको टोकरी’मा फालिदिएपछि रास्वपाको संस्थापन पक्ष झस्किएको छ ।

सभापति लामिछानेले राजनीतिक नियुक्ति पाएका सबैलाई पदमुक्त गर्ने सार्वजनिक घोषणा नै गरेका थिए । उनको मुख्य निशानामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल थिए । तर, प्रधानमन्त्री बालेनले लामिछानेको योजनालाई असफल तुल्याइदिएका छन् । बालेनले गभर्नर पौडेललाई सिंहदरबार बोलाएर ‘विज्ञको रूपमा निर्धक्क काम गर्न’ निर्देशन दिएपछि लामिछाने नैतिक संकटमा परेका छन् ।

उपसभामुख चयनको विषयले पनि दुई नेताबीचको दरारलाई सतहमा ल्याइदिएको छ । सभापति लामिछानेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई उपसभामुखमा सघाउने आश्वासन दिएका थिए । तर, प्रधानमन्त्री बालेनले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई अघि सारेपछि लामिछाने पछि हट्न बाध्य भए । सोही कारण शाहीले संसदको रोस्ट्रमबाटै लामिछानेलाई ‘धोकेबाज’ को संज्ञा दिए ।

रास्वपाले आफ्ना सांसदहरू मन्त्रालय धाउन नहुने नीति पारित गरेको थियो । तर, प्रधानमन्त्री बालेनले पार्टीको नीतिलाई बेवास्ता गर्दै सांसदहरू सागर ढकाल र गणेश कार्कीलाई विभिन्न मन्त्रालयको ‘ब्रिफिङ’ लिन खटाएका छन् । यसले पार्टीको आधिकारिक नीति र सरकारको कार्यशैलीबीच तालमेल नभएको देखाउँछ ।

पार्टीले ललितपुरमा आयोजना गरेको सांसदहरूको दुई दिने विशेष अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री बालेनको अनुपस्थितिले धेरै प्रश्न उब्जाएको छ । आफ्नै पार्टीको महत्वपूर्ण कार्यक्रममा बालेन नआउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । कम बोल्ने बालेन र भाषणमा रमाउने रविको स्वभावले पनि दूरी बढाउन मद्दत गरेको विश्लेषण गरिन्छ ।

अमेरिकी कांग्रेसको अनुसन्धान सेवाले समेत रवि र बालेनबीचको सहकार्यलाई ‘सुविधाको मिलन’ (Marriage of Convenience) भनेर टिप्पणी गरेको छ । राजकीय मामिलामा बालेन हाबी हुँदै जाँदा र सभापति लामिछाने रक्षात्मक बन्नुपर्दा यो सरकार पाँच वर्ष टिक्नेमा स्वयं रास्वपाका नेताहरू नै सशंकित हुन थालेका छन् ।