काठमाडौँ — ‘नियमित योग गरौँ, निरोगी बनौँ’ भन्ने नाराका साथ बुधबार देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । दिवसको अवसरमा काठमाडौँको टुँडीखेलमा विशेष योग अभ्यास कार्यक्रमको आयोजना गरियो, जहाँ उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणसम्मको ठूलो उपस्थिति थियो ।
बिहान सबेरैदेखि सुरु भएको विशेष योग शिविरमा सभामुख डोलप्रसाद अर्याल, सरकारका प्रतिनिधिहरू, विभिन्न दलका राजनीतिज्ञ, उच्च कर्मचारी र सयौँको संख्यामा सर्वसाधारण सहभागी भएका थिए ।
टुँडीखेलमा योगको लहर
चैतको अन्तिम साताको बिहानी शीतल मौसममा सेतो पहिरनमा सजिएका सहभागीहरूले टुँडीखेललाई योगमय बनाएका थिए । आरोग्य फाउन्डेसन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त पहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न योगासन, प्राणायाम र ध्यानको अभ्यास गराइएको थियो ।
योग अभ्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक र शारीरिक तनाव व्यवस्थापन गर्न योग अपरिहार्य रहेको बताए । ूयोग केवल व्यायाम मात्र होइन, यो हाम्रो प्राचीन दर्शन र जीवन जिउने कला हो, सभामुख अर्यालले भने, राज्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रत्येक स्थानीय तहसम्म योग र प्राकृतिक चिकित्सालाई पुर्याउनुपर्छ ।
देशभरी विभिन्न कार्यक्रम
काठमाडौँमा मात्र नभई देशका सातै प्रदेश र प्रमुख सहरहरूमा आरोग्य दिवसका अवसरमा प्रभातफेरी, प्रवचन र योग शिविरहरू सञ्चालन गरिएका छन् । पोखरा, विराटनगर, बुटवल र नेपालगञ्जमा पनि स्थानीय तहको समन्वयमा विशेष कार्यक्रमहरू भएका समाचार प्राप्त भएका छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार बदलिँदो खानपान र निष्क्रिय जीवनशैलीले गर्दा नसर्ने रोगहरूको जोखिम बढिरहेको सन्दर्भमा आरोग्य दिवसको महत्व झनै बढेको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले अस्पतालमा बिरामीको चाप घटाउनका लागि नागरिकलाई आरोग्य र योगको माध्यमबाट स्वयं स्वस्थ रहन प्रेरित गरिरहेका छौँ ।’
सर्वसाधारणको उत्साहजनक सहभागिता
कार्यक्रममा सहभागी हुन आएका काठमाडौँका ७० वर्षीय रामेश्वर थापाले विगत १० वर्षदेखि नियमित योग गर्दा आफूलाई नसर्ने रोगहरूबाट बच्न मद्दत पुगेको अनुभव सुनाए । टुँडीखेलमा उनीजस्तै युवादेखि वृद्धवृद्धासम्मले सामूहिक रूपमा सूर्य नमस्कार, अनुलोम-विलोम प्राणायाम गरेका थिए ।
सरकारले पछिल्ला वर्षहरूमा विद्यालय तहको पाठ्यक्रममा पनि योगलाई समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसले मानिसलाई औषधिमा भन्दा पनि प्राकृतिक जीवनशैलीमा फर्कन सन्देश दिएको सहभागीहरूले बताए ।



प्रतिक्रिया