काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुरले विवाहको निमन्त्रणापत्रमै दहेज मुक्त विवाह भन्ने सन्देश उल्लेख गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले दाइजो प्रथा अझै पनि समाजमा जरो गाडेर बसेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।
आफूले प्राप्त गर्ने अधिकांश विवाहका कार्डहरूमा दाइजो विरोधी सन्देश नदेखिएको उल्लेख गर्दै उनले लेखेकी छन्, दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नुसमेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो।
उपसभामुख ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष आघात पुर्याउने बताएकी छन्। उनले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने समेत स्पष्ट पारेकी छन्।
सबैलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यास गर्न आग्रह गर्दै उनले निमन्त्रणापत्रमै एउटा स्पष्ट सन्देश राख्न अनुरोध गरेकी हुन्।
उनले लेखेकी छन्, विवाह निमन्त्रणापत्रमै दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो भन्ने सन्देश समावेश गरी पठाउन म सबैमा अनुरोध गर्दछु।



प्रतिक्रिया