विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा प्रम बालेन

विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा प्रम बालेन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। बेलायतबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन टाइमले सार्वजनिक गरेको सन् २०२६ का विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा बालेन समेटिएका हुन्।

बालेनसँगै यो सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्याथोलिक धर्मगुरु पोप लियो चौधौं, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाम र क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने छन्। यस्तै, जापानी प्रधानमन्त्री साने ताकाइची, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, बंगलादेशका प्रधानमन्त्री तरिक रहमान र न्युयोर्कका मेयर जोहरन मम्दानी पनि प्रभावशाली नेताको सूचीमा अटाएका छन्।

प्रधानमन्त्री शाहका बारेमा टाइमले लेखेको छ, बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले शानदार जित हासिल गरेको म्यागजिनले उल्लेख गरेको छ।

सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौंको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा लैजाने चुनौती अब उनीसामु रहेको टिप्पणी पनि म्यागजिनले गरेको छ। टाइमले बालेनको उदयलाई दक्षिण एसियाको वंशवादी राजनीति विरुद्धको ठूलो प्रहारका रूपमा व्याख्या गरेको छ।