काठमाडौं । एभरेष्ट हस्पिटलले थप पाँच विभागसहितको थप सेवा बिस्तार गर्ने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित यो अस्पतालले आगामी शनिबारदेखि थप सेवा बिस्तारका साथै सोहि दिन बृहत निस्शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको समेत गर्ने भएको हो ।
अस्पतालले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सञ्चालनमा आउन लागेका थप सेवाहरु सँगै सोही दिन गर्न लागिएको निस्शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमबारे जानकारी दिएको थियो ।
कार्यक्रममा अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख दीपकचन्द्र बरालले इतिहास बोकेको एभरेष्ट अस्पतालले समय सापेक्ष सेवाहरु थप गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै निस्शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले आगामी २२ असार शनिबारका दिन देखि अस्पतालमै स्थापित ब्लड बैंक सेवा सञ्चालनमा ल्याउने छौँ, मिर्गौलाका बिरामीका लागि हेमोडायलासिस सेवा पनि सञ्चालनमा ल्याउँदै छौँ । त्यहि दिन देखि अस्पतालमा स्थापना गरिएका दन्त विभाग, नेत्र विभाग र आईसीयू विभाग पनि सञ्चालनमा आउने छन् ।,’
‘तीन दशक अघि एभरेष्ट नर्सिङ होमको नाममा स्थापित यो अस्पताल बीचमा माउन्ट एभरेष्ट अस्पताल हुँदै अहिले एभरेष्ट अस्पतालको रुपमा सञ्चालित छ । यो अस्पतालको आफ्नै ईतिहास छ, निजी क्षेत्रबाट खुलेको नेपालकै दोस्रो नर्सिङ होम हो, बरिष्ठ न्युरो सर्जन स्वर्गीय डा उपेन्द्र देवकोटाले शल्यक्रिया सुरु गरेको यहि अस्पतालबाट हो, छातीरोग विशेषज्ञ डा रमेश चोखानीले पनि यहिबाट सेवा थाल्नु भएको हो,’ इतिहास सम्झदै निर्देशक बरालले भन्नुभयो, ‘बीचमा केही सेलायौँ होला तर अब हामी पूर्ण तयारीका साथ आएका छौँ, उत्कृष्ट सेवाका लागि प्रतिवद्ध छौँ ।’
‘अत्याधुनिक मेसिन उपकरण संगै दक्ष जनशक्तिले सुसज्जित १०० शैय्याको यो अस्पताललाई बहु विशेषज्ञ स्वास्थ्य सेवा दिने नेपालकै नम्बर वान अस्पतालको रुपमा अघि बढाउने योजना रहेको छ,’ बरालले भन्नुभयो ।
त्यस्तै शनिबारको शिविर संयोजक बनेका सुरज भुसालले शनिवार ५०० युनिट रगत संकलन गर्ने योजनाका साथ तयारी अगाडी बढाईएको बताउनुभयो । त्यसका लागि अस्पतालले विभिन्न ११ वटा पार्टनरसंग समन्वय गरिरहेको पनि उहाँले बताउनुभयो । एभरेष्टमा सञ्चालनमा आउन लागेको ब्लड बैंकमा ५०० देखि ८०० युनिटसम्म रक्त भण्डार गर्न सकिने जानकारी उहाँले दिनुभयो ।
निस्शुल्क स्वास्थ्य शिविर अन्तर्गत सुगर, युरिया, क्रियाटिनिन जाँच, मिर्गौला जाँच गरिनुका साथै निस्शुल्क दन्त तथा आँखा जाँच पनि हुनेछन् ।
शिविरमा २०० जनालाई निस्शुल्क चस्मा, १५० जनालाई निस्शुल्क स्यानिटरी प्याड, १५० जनाको १०० रुपैयाँ शुल्कमा अल्ट्रासाउण्ड गरिने कार्यक्रम रहेको छ । साथै सोही दिन देखि सञ्चालनमा आउन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई त्यस दिन निस्शुल्क सेवा दिईने अस्पतालले जानकारी दिएको छ ।
एभरेष्ट हस्पिटलको शिविरमा जान चाहनेले ईमेल, फोन तथा एसएमएस मार्फत अस्पतालमा अग्रिम नाम दर्ता गर्ने व्यवस्था समेत रहेको छ।
शिविर आगामी शनिबार विहान ८ देखि दिउसो ३ बजेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया