काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दलमा आबद्ध भएका शिक्षक तथा कर्मचारीमाथिको कारबाही विवरण पेस गर्न पुनः ताकेता गरेको छ । देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पुनः ताकेता गर्दै कारबाही सम्बन्धीको विवरण सात दिनभित्र पेस गर्न भनेको हो ।
बिहीबार बसेको केन्द्रको बैठकले सात दिनभित्रमा कारबाही सम्बन्धीको विवरण बुझाउन निर्देशन दिएको हो । केन्द्रले यसअघि २०८१ जेठ २ गते १५ दिनभित्र कारबाहीको प्रगतिबारेको विवरण पेस गर्न इकाइहरूलाई निर्देशन दिएको थियो । तर, कुनै पनि इकाइले विवरण पेस नगरेपछि केन्द्रले सातदिने म्याद दिँदै ताकेता गरेको हो ।
केन्द्रले २०८१ वैशाख ७ को ‘राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक–कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही आधारमा केन्द्रले राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न भनेको थियो ।
त्यसपछि जेठ २ गते प्रचलित कानुन बमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ भन्ने विषयमा १५ दिनभित्रमा प्रगति विवरण केन्द्रलाई पठाउन भनेको थियो । तर, हालसम्म केही इकाइहरूबाट अपूर्ण विवरण आएको र बाँकी इकाइहरूबाट कुनै पनि विवरण उपलब्ध नभएको केन्द्रले जनाएको छ ।
सात दिनभित्रमा कारबाही प्रक्रिया के कस्तो भएको छ रु विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरू छन् रु ती मध्ये कति शिक्षकहरू पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् त्यसको पूर्ण प्रगति विवरण पेस गर्न भनेको हो ।




प्रतिक्रिया