यि २० वाणिज्य बैंक, कुन बैंकको कर्मचारी खर्च कति हेर्नुहोस् ?

यि २० वाणिज्य बैंक, कुन बैंकको कर्मचारी खर्च कति हेर्नुहोस् ?


काठमाडौं । अहिलेको समयमा बैंकमा जागिर खानु सबैको रोजाई बिषय बन्ने गरेको छ । बैंकिङ सेवा सुविधादेखि तलब भत्तासम्म आकर्षक रुपमा पाईने भएर होला सायद यस क्षेत्रमा आकर्षण बढ्दो छ । सरकारी जागिरपछि अर्को बिकल्प बैंक नै मानिन्छ ।

यही आकर्षणको केन्द्रबिन्दु रहेको बैंकिङ क्षेत्रले आफ्ना कर्मचारीका लागि नौ महिनामा ४१ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन् । र यो पनि बोनसबाहेकको खर्च हो । कर्मचारी खर्चअन्तर्गत (स्टाफ एक्सपेन्स) तलब भत्ता, तालिम, सञ्चय कोष र उपदानमा जाने रकमसमेत समेटिएको हुन्छ ।

कर्मचारीमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले आफ्ना कर्मचारीका लागि साउनदेखि चैतसम्म ९ महिनामा ३ अर्ब २७ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ ।

निजीतर्फ कुमारी बैंकले ३ अर्ब ७ करोड ७० लाख र नबिलले ३ अर्ब १ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले २ अर्ब ७० करोड र नेपाल बैंकले १ अर्ब ६८ करोड खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुन बैंकको कर्मचारी खर्च कति ?

स्रोतः नेपाल राष्ट्र बैंक

बोनसमा छुट्याइयो सवा ६ अर्ब
वाणिज्य बैंकले आकर्षक तलबका साथै नाफाअनुसार आफ्ना कर्मचारीलाई बोनससमेत बाँड्ने गरेको छ । कर्मचारीलाई कम्पनीको नाफाको हिस्सेदार बनाउने बैंकले ६ अर्ब २६ करोड ८० लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन् । यो सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले मात्र छुट्याएको रकम हो ।

बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । सोहीअनुसार नै बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् । अर्बौं नाफा गर्ने बैंकले आफ्ना कर्मचारीका लागि पनि अर्बौं खर्च गर्दै आएका छन् ।

सबैभन्दा बढी बोनस नबिल बैंकका कर्मचारीका लागि छुट्याइएको छ । यस बैंकले कर्मचारी बोनस शीर्षकका ७३ करोड ६० लाख छुट्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले ५२ करोड, एभरेष्टले ४१ करोड ४० लाख र राष्ट्रिय वाणिज्य बैंकले १७ रकोड ८० लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन् । नेपाल बैंकले ३ करोड ९ लाख, स्ट्यान्डर्ड चार्टर्डले ३८ करोड ८४ लाख र हिमालयनले ३३ करोड ४२ लाख रुपैयाँ बोनस छुट्याएका छन् ।

त्यस्तै नेपाल एसबीआई बैंकले १८ करोड ७६ लाख, एनआईसी एसियाले २९ करोड ४० लाख, माछापुच्छ्रेले १५ करोड २० लाख, कुमारीले २५ करोड ३० लाख, लक्ष्मी सनराइजले २४ करोड ९० लाख, सिद्धार्थले २६ करोड ९० लाख, कृषि विकास बैंकले १४ करोड १० लाख, ग्लोबल आईएमईले ५० करोड ४५ लाख, सिटिजन्सले २० करोड ८८ लाख, प्राइमले ४५ करोड ६० लाख, एनएमबीले ३५ करोड २९ लाख, प्रभुले ३७ करोड ४४ लाख र सानिमाले २२ करोड २९ लाख रुपैयाँ बोनस छुट्याएका छन् ।