काठमाडौं । प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ भने चन्द्रागिरि नगरपालिका उपविजेता भएको छ ।
गोदावरी नगरपालिका १० टाहाखेलस्थित झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई पछि गर्दै काठमाडौं महानगरले उपाधि हात पारेको हो ।
काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले समान १/१ गोल गरेका थिए भने चन्द्रागिरिका लागि अभिरल रिजालले १ गोल गरे ।
विजेता काठमाडौं महानगरले उपाधिसहित ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेता बनेको चन्द्रागिरिले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
काठमाडौंका अखिलेश कार्की फाइनलमा म्यान अफ द म्याच घोषित भए । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
फेयर प्ले ट्रफीसहित महालक्ष्मी नगरपालिकाले ५० हजार पायो ।
त्यस्तै सर्वाधिक गोलकर्ता कीर्तिपुरका यमन मर्हजन भए । उनले ६ गोल गरेका थिए ।
इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए । उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी चुनिए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरिका साहिल राना चुनिए ।
उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए भने विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।



प्रतिक्रिया