कांग्रेसले अब कसैको बैशाखी टेक्दैनः सभापति थापा

कांग्रेसले अब कसैको बैशाखी टेक्दैनः सभापति थापा


विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र कुशासनको मुद्दामा पार्टीले अब कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ। विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसलाई पुरानो र अक्षम देखाउन खोजिएको भाष्यलाई सुशासनमार्फत चिर्ने प्रतिबद्धता जनाउनुभयो।

पार्टीको वर्तमान अवस्थालाई चित्रण गर्दै थापाले भन्नुभयो, “कहिलेकाहीँ सिंह पनि अगाडि जानका लागि दुई चाल पछाडि सर्छ, हामी पनि सङ्गठित र बलियो हुन पछाडि हटेका हौँ । अब कांग्रेस कसैको बैसाखी टेकेर होइन, आफ्नै भुइँमा उभिएर देशको नेतृत्व गर्नेछ ।”

गठबन्धनले कांग्रेसको पहिचान धमिलियो
सभापति थापाले सत्ता गठबन्धनको राजनीतिका कारण पार्टीको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। एमाले र माओवादीसँगको अधिक निकटताले गर्दा जनताले कांग्रेस चिन्न छाडेको र करिब १० लाख मतदाता पार्टीबाट टाढिएको उहाँको दाबी छ।

“हामी अरूसँग यति धेरै मिसियौँ कि हाम्रो आफ्नै रङ हरायो,” उहाँले भन्नुभयो, “अब चिन्ता मात्र गरेर हुँदैन, निर्मम समीक्षा र चिन्तन गरेर समाधान खोज्ने बेला आएको छ ।”

नयाँ पुस्ता र प्रविधिको चुनौती
बदलिँदो समय र प्रविधिबारे चर्चा गर्दै थापाले कांग्रेसले सामाजिक सञ्जालको शक्तिलाई बुझ्न नसकेको स्वीकार गर्नुभयो। आज कक्षा ९ र १० मा पढ्ने छोराछोरीले टिकटक र फेसबुकको प्रभावमा परेर घरको मत निर्धारण गरिरहेका छन्, हामीले यो ग्यापलाई चिर्न सकेनौँ, उहाँले भन्नुभयो।

पार्टीलाई आधुनिक बनाउन उहाँले केही नयाँ योजनाहरू अघि सार्नुभएको छ –

आठ लाख क्रियाशील सदस्यका लागि डिजिटल आइडेन्टिटी।

अनलाइनमार्फत सदस्यता नवीकरणको व्यवस्था।

नयाँ पुस्तालाई लक्षित गरी प्रविधिमैत्री संगठन निर्माण।

१५ औँ महाधिवेशन र सुशासनको लक्ष्य
कार्यक्रममा महामन्त्री प्रदीप पौडेल, उपसभापति पुष्पा भुसाल र नेता गुरुराज घिमिरेले पनि पार्टीलाई ुजराु सम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। १५ औँ महाधिवेशनमार्फत कांग्रेसलाई मुलुकको पहिलो शक्तिका रूपमा पुनस्र्थापित गर्ने उहाँहरूको दृढता थियो।

सभापति थापाले कोशी प्रदेशका कार्यकर्ताहरूलाई स्थानीय र प्रदेश सरकारमार्फत सुशासनको नमुना पेस गरेर जनताको मन जित्न निर्देशनसमेत दिनुभएको छ।