दैनिक प्रयोग हुने तरकारीको मूल्य अचाक्ली बढ्यो

दैनिक प्रयोग हुने तरकारीको मूल्य अचाक्ली बढ्यो


काठमाडौँ । भान्छामा दैनिक प्रयोग हुने तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा तरकारीको थोक मूल्यमै २ सय प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो ।

समितिले गत वर्ष र यस वर्षको वैशाख १० गतेको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशतदेखि अधिकतम २२४ प्रतिशतसम्म मूल्य बढेको पाइएको छ ।

किन बढ्यो मूल्य ?
कालीमाटी बजारमा तरकारीको आपूर्तिमा आएको गिरावट नै मूल्य वृद्धिको मुख्य कारण मानिएको छ । सामान्य अवस्थामा दैनिक १ हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने कालीमाटीमा अहिले आपूर्ति ६ देखि ७ सय मेट्रिक टनमा खुम्चिएको छ ।

समितिका अनुसार यो समय हिउँदे तरकारीको सिजन सकिने र बर्खे तरकारी भित्रिने ट्रान्जिसन पिरियड भएकाले मूल्यमा प्रभाव परेको हो । नयाँ तरकारी पूर्ण रूपमा आइनसकेकाले बजारमा अभाव देखिएको हो । तर अब मकवानपुर, चितवन र तराईका जिल्लाबाट बर्खे तरकारी आउन थालिसकेकाले मूल्य क्रमशः घट्ने देखिन्छ ।

उपभोक्तालाई राहतको संकेत
मूल्य उच्च विन्दुमा पुगे पनि अब बिस्तारै घट्न थालेको बिक्रेताहरु दाबी गर्छन् । गत चैतको तुलनामा अहिले गोलभेँडा, लौका, घिरौँला र भिन्डीको भाउ केही ओरालो लाग्न थालेको छ ।

हिउँदे तरकारी सकिएर बर्खे सिजन सुरु हुँदैछ । अब बजारमा आपूर्ति बढ्दै गएपछि मूल्य पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ ।

कहाँबाट आउँछ तरकारी ?
हाल कालीमाटी बजारमा उपत्यका वरपरका जिल्लाहरू धादिङ, काभ्रे, नुवाकोट, मकवानपुरसहित दोलखा र रामेछापबाट तरकारी आपूर्ति भइरहेको छ । त्यस्तै, तराईका सर्लाही, बारा र पर्साबाट पनि तरकारी भित्रिने क्रम जारी रहेको समितिले जनाएको छ ।