मोरङ । विराटनगरमा ठूलो परिमाणको लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार मंगलबार राति महानगरपालिकाको वडा नम्बर १७ स्थित एकीकृत भन्सार जाँच केन्द्र जाने सडकमा रोकिराखेको पिकअप भ्यानमा २ सय ५० किलोग्राम गाँजा बरामद भएको हो।
काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले भ्यानमा केरा र गाँजा लोड गरिरहेको अवस्थामा भ्यान चालक धनकुटा सहिदभूमि गाँउपालिकाका १८ वर्षीय दिवस राईलाई नियन्त्रणमा लिएको छ।
राति करिब साढे ११ बजे पिकअप भ्यानको पछाडि भागमा गाँजा तल राखी माथिबाट केराले छोपिँदै गर्दाको अवस्थामा प्रहरी चालक राईलाई नियन्त्रणमा लिइएको हो।
उपरीक्षक कार्कीका अनुसार केरा ओसारपसार गरेको देखाएर गाँजाको ओसारपोसार भारततर्फ भइरहेको सूचनाको आधारमा प्रहरीले राति नै अपरेसन गरेको हो।
हाल पक्राउ परेका चालक र नियन्त्रणमा लिएको सवारीका सम्बन्धमा रानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बेल्बासेको नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।
प्रहरी निरीक्षक बेल्बासेका अनुसार चालक राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चल्ने जानकारी दिए।



प्रतिक्रिया