पाँच लाख पुरस्कार राशिको एनएनटीभी सर्टस् घोषणा

पाँच लाख पुरस्कार राशिको एनएनटीभी सर्टस् घोषणा

संगिता अधिकारी

नेपाली लघु चलचित्रमार्फत् नयाँ चलचित्रकर्मीलाई प्रोत्साहित गर्न नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी सर्टस् घोषणा गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले एनएनटिभी सर्टस्को घोषणा गर्नुभयो ।

‘मेरो कथा, मेरो सिनेमा’ नाम दिइएको कार्यक्रमले लघु चलचित्रका माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको एनएनटिभीका प्रमुख कार्यकारी अधिकृत दिनेश डिसीले बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ हास्य कलाकार पन्तले कार्यक्रमको शुभकामना व्यक्त गर्दै नेपाली चलचित्रको उत्थानका लागि एनएनटिभी सर्टस्ले ठूलो योगदान पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।
एनएनटीभी सर्टस्का निर्णायकहरुमा वरिष्ठ कलाकार सुनिल थापा, दीपेन्द्र के खनाल र पूजा शर्मा रहने कार्यक्रममा जानकारी दिइयो । निर्णायक मण्डलका सदस्यहरुले लघु चलचित्रका माध्यमबाट ठूलो पर्दाका चलचित्र निर्माण गर्न सघाउ पुग्ने बताउनुभयो । नेपाली चलचित्रप्रति युवा पुस्ताको आकर्षण बढाउन यस्ता कार्यक्रम सहयोगी हुने निर्णायक मण्डलको विश्वास रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको लघु चलचित्रको कथासार अनलाइनमार्फत पेश गर्नुपर्नेछ । कम्पनीका अनुसार डब्लू डब्लू डब्लू डट एनएनटिभी सर्टस् डट कममार्पmत् आ–आफ्ना कथासार पठाउन सकिनेछ । प्राप्त भएका कथासार छनौट भएमा नेपाल नेटवर्क टेलिभिजनले निर्माण अनुमति प्रदान गर्नेछ । अनुमति प्राप्त व्यक्ति वा समूहले श्रव्यदृश्यसहित लघु चलचित्र निर्माण गरेर प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

प्रतिस्पर्धामा सहभागीले १२ देखि २४ मिनेटसम्मको लघु चलचित्र निर्माण गर्नुपर्नेछ । प्रतिस्पर्धीले आउँदो साउन २० गतेभित्रमा लघु चलचित्रको कथासार दर्ता गराइसक्नुपर्नेछ । ती कथाहरु छनौट भएमा साउन २५ देखि भदौ २५ भित्रमा लघु चलचित्र निर्माण पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

छनौटमा परेका लघु चलचित्रहरुबारे निर्णायक मण्डलले भदौ २६ देखि मूल्यांकन गर्नेछ । ती लघु चलचित्र असोज १ गतेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुनेछन् । प्रसारित लघु चलचित्रमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् । यसबाहेक उत्कृष्ट १० वटा चलचित्रलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रसारणको अन्तिम तयारीमा रहेको नेपाल नेटवर्क टेलिभिजनले घोषणा गरेको उक्त कार्यक्रम नेपालको चलचित्र निर्माणका क्षेत्रमा कोशेढुंगा साबित हुने र प्रतिभावान् व्यक्तिहरुको उत्पादन गर्ने अपेक्षा लिइएको नेपाल नेटवर्क टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धितालले बताउनुभयो ।

कार्यक्रममा कलाकारहरु क्याप्टेन विजय लामा, कृष्ण मल्ल, दिपाश्री निरौला, जितु नेपाललगायत चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।