आमा कोइला हुन् आफु जलेर सन्तानलाई राप दिन सक्छिन् !

आमा कोइला हुन् आफु जलेर सन्तानलाई राप दिन सक्छिन् !


प्रभा अर्याल । आमा यस्तो शब्द हो जुन शब्द उच्चारण गर्न पाउनु सन्तानको लागि परम् सौभाग्यको कुरा हो ।आमा शब्द संसारकै पवित्र शब्द हो  । आमालाई आमा, माता, जननी, धरतीजस्ता विभिन्न नामले पनि पुकार्ने गरिन्छ । त्यस्तै हिन्दु धर्म ग्रन्थहरुमा उल्लेखित आमाहरुमा यसोदा, कुन्ती, सीता, पार्वती आदि आमाहरुको चर्चा र महिमाको गाथा एकदमै गरिएको पाईन्छ । साच्चै भन्नुपर्दा आमाको गुण अपम्पार रहेको छ ।

चर्को घाम लागेको बेलामा चाहिने छाया हुन् आमा । कयौं पिडा सहेर आफ्ना सन्तानलाई जन्म दिई माया,स्नेह प्रदान गर्न सक्ने ममताकी खानी हुन् आमा, बिहान उदाउने सुर्यको पहिलो किरणको सुन्दर बिहानी हुन् आमा । आमा नै पहिलो शिक्षिका,नर्स, डाक्टर, सचेतनाको ज्योति र साक्षरताकी प्रतिमुर्ति हुन् । जुनसुकै गल्तीलाई पनि सजिलै माफ गर्ने महान्ताकी बिम्ब हुन् । दुख कष्ट र अन्यायको सामना गर्न सिकाउने, दुखेको घाउमा औषधि लगाउने, प्रेरणाकी खानी र सन्तानको लागि जिन्दगाजी हुन् आमा । त्यसैले संस्कृतमा एउटा श्लोक छ ‘मातृदेवो भव’ अर्थात् आमा देवता हुन्, आमाको देवतासरह सम्मान गर्नुपर्छ । जसले आमाको सम्मान गर्छ त्यो सन्तानले पक्कै पनि कहिल्यै दुखको सामना गर्नु पर्दैन र पर्नेछैन ।

फ्रान्सको क्रान्तिताका सेनापति नेपोलियन बोनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु। त्यसैले आमा भवसागर हुन्, जसको गहिराइ नाप्न कसैले सक्दैन ।

काली भए पनि, बोल्न नसक्ने भए पनि, बूढी भए पनि, अशक्त भएपनि, मैला कुप्री, झुप्री, थुप्री, मोटी, पातली, गोरी, जस्ती भए पनि आमा आमा नै हुन्छिन् उनको त्यो स्थान अरु कसैले लिन सक्दैन । आमा बिना यो संसारको कल्पना पनि गर्न सकिदैन, त्यसैले जन्मदाता, कर्मदाता अनि मर्मदाता हुन् आमा। आमा कै त्याग र तपस्या कारण हामीले यो सुन्दर संसार देख्ने अवसर पाएका छौं । त्यसैले तन, मन र बचन देखि नै धन्यवाद छ ती आमाहरुलाई । हामीलाई बाटोमा हिँड्दा ठेस लाग्यो भने अचानक हाम्रो मुखबाट निस्किने पहिलो शब्द हो आमा ।

आमा आगो हुन्, सन्तानलाई ताप दिन सक्छिन्, आमा कोइला हुन् आफु जलेर सन्तानलाई राप दिन सक्छिन् । आमा फुन हुन् सुगन्ध छर्न सक्छिन्, आमा पानीको मुल हुन् ममताको घडा भर्न सक्छिन् ।आमा भगवान हुन्, बरदान हुन् । त्यसैले आमा आमा नै हुन् ।

आफु भोको पेट बसेर, भोको पेटमै पटुकी कसेर सन्तानको पेट भर्न हरदम लागिरहने अन्नदाता हुन् आमा । कुनै कामबाट घर पुग्नासाथ उच्चारण हुने शब्द हो आमा । कुनै कुरामा दंग वा छक्क पर्दा उच्चारण गर्ने शब्द हो आमा । दुःखमा पनि सुखमा पनि , वाचा–कसम खाँदा, बच्चाको पहिलो बोली फुट्दा बालिने पहिलो शब्द हो आमा । त्यसैले आमा धरती कि माता हुन् । हरेक पीडालाई सहन सक्ने शक्ति भएकाले होला सायद भगवानले नै सन्तान उत्पादनको जिम्मा आमालाई नै दिएका ।

त्यसैले नौ महिनासम्म भ्रुणलाई आफ्नो गर्भमा राखेर अनेकौं दुख,कष्ट सहेर एउटा मानव शरिरलाई यो सिंगो संसार देखाउने जीवनदाता हुन् आमा । यस धर्तीका प्रत्येक आमा महान् छन् । त्यसैले आज मातातिर्थ औंशि अर्थात् आमाको मुख हेर्ने दिनमा मेरो हृदयदेखि नै सम्मान छ, संसारका सबै सबै आमाहरुलाई ।

आफ्नो सन्तानको खुसीमा रमाउने, दुखमा दुखि हुने पहिलो व्यक्ति हुन् आमा बाहेक अरुले त सुखमा मात्रै साथ दिन्छन् अनि दुख पर्दा लात हानेर हिँड्ने गर्छन् । सन्तानको खुसी र उन्नतिको सधैँ प्रार्थना गर्ने साक्षत् भगवान हुन् आमा । सन्तानका लागि आफ्ना कयौं सपनाको बलिदान दिएकी हुन्छिन् आमाले तर पनि सन्तानका लागि सबै कुरा सहजै त्याग्न तयार हुने त्यागको प्रतिमुर्ति हुन् आमा । सन्तान हुर्काउदा पाएको कष्ट र सङ्घर्षमा आमालाई कुनै दुःखमनाउ नै हुँदैन ।

मैले आमाहरुको दुःख,खुसी,स्वाभिमान, बलिदान, त्याग र तपस्या देखेकी छु । त्यसैले प्रत्येक आमाहरु मलाई संसारकै सबैभन्दा उत्कृष्ट लाग्छ ।

सन्तानका साथ साथै घरका लागि आमाले खर्चिएको त्याग, माया,स्नेह र कामको बयान गरी साध्य नै छैन  । आफ्ना सन्तान सानो छँदा तेल लगाएर, मुसारेर, हुर्काएकी ती आमाले बिस्तारै उमेर ढल्कदैँ जाँदा जिउ दुखेर करकर खायो, गोडा दुख्यो,ढाड दुख्यो, टाउको दुख्यो, गाह्रो भयो भनिरहँदा झर्को नमानिदिए, आफुलाई बाल्यकालमा दुख गरेर हुर्काएको सम्झिदिए अनि आमालाई न्यानो माया गरिदिए अहिलेको समयमा कयौं बृद्ध आमाहरुले बृद्धाआश्रमको ढोका ढकढक्याउनु पर्दैन थियो होला सायद । बुढेसमालमा आमाले हात काम्यो भन्दा कत्ति पनि झर्को नमानौ बरु सम्झौं कि आमाले नै हो सानोमा हात समाएर हिँड्न सिकाएको ।

त्यसैले जति सक्छौँ बुढेसकालमा बाआमाको सेवा गर्ने कोसिस गरौँ । आफ्नो दुःख लुकाएर सन्तानलाई खुसी दिने आमालाई माया गरौं । हाम्रो खुसीमा झन् बढी खुसी हुन्छिन्  आमा । संसारमा अरूबाट पाउने मायासँग आमाले दिने मायाको तुलना गर्न सकिन्न । त्यसैले यस्ती ममताकी खानी, सन्तानकी जिन्दगानी,आमालाई अहिल्यैबाट माया र सम्मान गर्न सुरु गरौँ । कुनै पनि बुवाआमाले बूढेसकालमा एक्लो हुनुनपरोस् दुःखी भई रुनुनपरोस् । आमालाई आमाको मुख हेर्ने दिनमा मात्रै नभई सदैव माया र सम्मान गरौं ।  आमाको मुख हेर्ने दिनबाटै सबै आमाहरुमा खुसी छाओस् शुभकामना ।