आज साँझ काठमाडौं आउँदै कतारका राजा, विमानस्थलमा राष्ट्रपति पौडेलले गर्नेछन् स्वागत

आज साँझ काठमाडौं आउँदै कतारका राजा, विमानस्थलमा राष्ट्रपति पौडेलले गर्नेछन् स्वागत


काठमाडौं । कतार राजा आमिर शेख थामिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर आजै नेपाल आउने भएका छन् । नेपाली समयअनुसार साढे पाँच बजे उनी नेपाल आउने कार्यकतालिका सार्वजनिक भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् ।

कतारी राजा थानी आज सोमबार साँझ स्थानीय समयअनुसार ५ बजे बंगलादेश ओर्लिएका छन् । उनी राजकीय भ्रमणको लागि त्यहाँ पुगेका हुन् । बंगलादेशी राष्ट्रपति मोहमद शाहबुद्धिनले हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

बंगलादेशले राजा थानीलाई २१ तोपको सलामी दिएर सम्मान गरेको छ । उनलाई बंगलादेश वायु सेनाका ४ युद्ध जहाजले हवाई स्कर्टिङ गरेको कतारी दैनिक गल्फ टाइम्सले लेखेको छ । बंगलादेशको अखबार डेली स्टारका अनुसार सन २००५ पछि कतारी राजाको यो पहिलो बंगलादेशको राजकीय भ्रमण हो ।

सन् २००५ मा तत्कालीन कतारी आमिर शेख हमाद बिन खालिफा अल थानी बंगलादेश आएका थिए । बंगलादेशले कतारी राजासँग विमल्व भुक्तानीमा कतारी ग्यास आयात गर्न तथा बंगलादेशको इन्धन सुरक्षामा सहयोग गर्न माग गरेको डेली स्टारले लेखेको छ ।

नेपालजस्तै बंगलादेश पनि कतारका आप्रवासी कामदार धेरै पठाउने देश हो । कतारमा बंगलादेशका ४ लाख कामदार छन् भने दुई देशको व्यापारिक आयातन ३ अर्ब ६० करोड डलर भएको बताइएको छ ।