के तपाईलाई फिल्म हेर्न मन छ ? बैशाख ६ देखी ८ गते रामेछाप जानुस

के तपाईलाई फिल्म हेर्न मन छ ? बैशाख ६ देखी ८ गते रामेछाप जानुस

संगिता अधिकारी

आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव सुरु हुने भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हुन लागेको उक्त महोत्सवमा ग्रामिण क्षेत्र सँग सम्बन्धित चलचित्र प्रस्तुत गरिने बताइएको छ । काठमाण्डौमा सोमबार प्रमाणपत्र वितरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
यस्तै चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रतिबद्धता जनाउनुभयो । उहाँले कलाकार नै देशको गहना भएकाले सरकारले कलाकार र चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विस्तार गर्ने लक्ष्य रहेको जनाउनुभयो । चलचित्रले सामाजिक बिषयबस्तुलाई कथा मार्फत उजागर गर्ने माध्यम रहेको भन्दै प्रशंसनिय कार्य रहेको उल्लेख गर्नुभयो ।

यस महोत्सवमा टिपिकल गाउँको कथाबस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ३ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँगाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उहाँले बताउनुभयो । फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने बिषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रबर्धनसंगै नेपाली चलचित्रलाई ग्रामिण बजारमा पुर्याउने उदेश्य रहेको उल्लेख गर्नुभयो । नेपाल ग्रामीण चलचित्र महोत्सव’ले भाषा तथा संस्कृतिको आदान प्रदानको लागी पनि बिशेष भूमिका खेल्ने उहाँले बताउनुभयो ।

पहाडमा महोत्सव गर्दा हिमाल र तराईका चलचित्र प्रदर्शन गरेर त्यस बारेमा अन्तरक्रिया गरिने छ भने आगामी बर्ष हरुमा तराई र हिमालमा महोत्सव गरेर पहाडका बिषयका चलचित्र प्रदर्शन गरेर त्यसको बारेमा अन्तरक्रिया गरिने छ । पहिलो वर्ष गोरखा जिल्लको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हजारौ दर्शकको उपस्थिती रहेको थियो । दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो । यस बर्षभने रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजार स्थित गौरिसंकर उच्च मा.वि.मा गरिने भएको सापकोटाले बताउनुभयो ।