सिन्धुपाल्चोक–२ मा राप्रपाको उदाउँदो लहर, इन्जिनियर गोपिकृष्ण चौलागाईंको घरदैलो तीव्र, मतदातामा नयाँ आशा

सिन्धुपाल्चोक–२ मा राप्रपाको उदाउँदो लहर, इन्जिनियर गोपिकृष्ण चौलागाईंको घरदैलो तीव्र, मतदातामा नयाँ आशा


सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा निर्वाचन हुन अब एक साता पनि बाँकी छैन । चुनाव नजिकिँदै जाँदा यहाँको राजनीतिक माहोल दिनप्रतिदिन रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ । विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का युवा नेता इन्जिनियर गोपिकृष्ण चौलागाईंको सक्रिय घरदैलो अभियानले निर्वाचन क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ । गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष भेटघाट गरिरहेका चौलागाईंप्रति युवापुस्तादेखि अग्रज मतदातासम्म सकारात्मक प्रतिक्रिया देखिन थालेको स्थानीय राजनीतिक विश्लेषकहरूको ठहर छ ।

घरदैलो अभियानका क्रममा चौलागाईंले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै स्पष्ट दृष्टिकोण सार्वजनिक गरिरहेका छन् । मतदातासँग सीधा संवाद गर्दै उनले “विकासको निरन्तरता मात्र होइन, परिणाममुखी कार्यान्वयन” आवश्यक रहेको बताइरहेका छन् । लामो समयदेखि उही अनुहार दोहोरिँदै आए पनि अपेक्षित परिवर्तन नभएको गुनासो व्यक्त गर्ने मतदाताहरू यसपटक नयाँ र युवा नेतृत्व खोजिरहेको देखिन्छ । यही मनोभावलाई सम्बोधन गर्दै चौलागाईंले आफूलाई जिम्मेवार, प्राविधिक ज्ञानयुक्त र योजनाबद्ध विकास गर्न सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । यस क्षेत्रमा पटक–पटक विजयी भएका दल र नेताहरूले धेरै आश्वासन दिए पनि अपेक्षित उपलब्धि हासिल नभएको चर्चा मतदातामाझ व्यापक छ । यस्तो अवस्थामा राप्रपाले अघि सारेको घोषणापत्र र एजेन्डा “मुलुक सुहाउँदो” र व्यावहारिक भएको भन्दै समर्थकहरूले दाबी गरिरहेका छन् । सुशासन, पारदर्शिता, सांस्कृतिक पहिचानको संरक्षण र आर्थिक आत्मनिर्भरतालाई जोड दिएको एजेन्डाले विशेषगरी युवापुस्तामा आकर्षण बढाएको देखिन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार, वैकल्पिक शक्तिको खोजीमा रहेका मतदाताका लागि राप्रपा यसपटक बलियो विकल्पका रूपमा उदाउँदै गएको छ ।

इन्जिनियरिङ पृष्ठभूमि भएका चौलागाईंले पूर्वाधार विकास, विपद् व्यवस्थापन र दीर्घकालीन योजना निर्माणमा आफ्नो अनुभव उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिन्धुपाल्चोक भूकम्प र बाढीपहिरोबाट पटक–पटक प्रभावित जिल्ला भएकाले प्राविधिक दक्षता भएको नेतृत्व आवश्यक रहेको उनको तर्क छ । जोखिम न्यूनीकरण, सुरक्षित बस्ती विकास, दिगो सडक सञ्जाल र आधुनिक कृषि प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने उनले स्पष्ट पारेका छन् । यही सन्देशसहित अघि बढिरहेको उनको घरदैलो अभियानले चुनावी वातावरणलाई थप तातेको बनाएको छ ।

यस्तै, पछिल्लो समय देशव्यापी रूपमा उठिरहेको ‘जेन–जी आन्दोलन’का मुद्दा—सुशासन, रोजगारीको सुनिश्चितता, पारदर्शी राजनीति, डिजिटल रूपान्तरण र अवसरमा समान पहुँच—लाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता पनि चौलागाईंले व्यक्त गरेका छन् । युवाहरूको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने, नीति निर्माणमा प्रविधिमैत्री र उत्तरदायी प्रणाली विकास गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उनको घोषणा छ ।
अन्तिम फैसला त मतपेटिकाबाटै आउने हो । तर वर्तमान अवस्थाले के संकेत गर्छ भने, सिन्धुपाल्चोक–२ मा यसपटकको प्रतिस्पर्धा अत्यन्त कडा र रोचक हुने निश्चितजस्तै देखिएको छ । युवा नेतृत्वको खोजी, विकासप्रतिको स्पष्ट दृष्टिकोण, जेन–जी पुस्ताका मागप्रति संवेदनशील प्रतिबद्धता र पुराना वाचाबाट निराश बनेका मतदाताको मनोभावले इन्जिनियर गोपिकृष्ण चौलागाईंप्रति भरोसा बढ्दै गएको छ । यही कारण, सिन्धुपाल्चोक–२ को निर्वाचन यसपटक ऐतिहासिक मोडतर्फ उन्मुख भएको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।