ओखलढुंगा, २०८२ फागुन १२ — प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि कर्मचारी खटाउने क्रममा पदीय मर्यादा विपरीत जिम्मेवारी तोकिएको विषयमा असन्तुष्टि जनाउँदै ओखलढुंगाका केही कर्मचारीहरूले संयुक्त असहमति पेश गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा समक्ष बुझाइएको संयुक्त विज्ञप्तिमा उनीहरूले आफूहरूको पदीय मर्यादामा गरिएको विभेदप्रति आपत्ति जनाएका हुन्।
विज्ञप्तिअनुसार कर्मचारी खटाइँदा पदअनुसारको जिम्मेवारी नदिइएको भन्दै यसअघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त असहमति दर्ता गरिएको थियो। सोही विषयमा २०८२ फागुन १२ गते भौतिक उपस्थितिमै छलफल भएको जनाइएको छ। छलफलका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि समग्र रूपमा सबै कर्मचारीको पदीय मर्यादा मिलाउन नसकिने मौखिक जवाफ दिएको कर्मचारीहरूको भनाइ छ।
यस परिस्थितिमा पनि सम्बन्धित कर्मचारीहरूले राज्यप्रति आफ्नो दायित्वबाट पछि नहट्ने स्पष्ट पारेका छन्। “निर्वाचन जस्तो संवेदनशील राष्ट्रिय कार्यमा कुनै अवरोध नआओस् भन्ने हाम्रो चाहना हो,” विज्ञप्तिमा उल्लेख छ, “तर पदीय मर्यादामाथि गरिएको विभेद भने स्वीकार्य हुन सक्दैन।”
उक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने कर्मचारीहरू — दुर्गराज चौलागाई, राजन ढकाल, चन्द्रमणी पोखरेल, अशोक राई, कमल धमला, प्रकाश ढकाल, तान्जिङ तामाङ र रोशन गिरी — ले आफूहरू राज्यले खटाएको स्थानमा निस्वार्थ रूपमा खटिने तर निर्वाचनमा खटिएवापत प्राप्त हुने कुनै पनि आर्थिक सुविधा नलिने घोषणा गरेका छन्। उनीहरू क्रमशः लेखा अधिकृत, आन्तरिक लेखापरीक्षण अधिकृत, शिक्षा अधिकृत, सहायक पाँचौं, सब–इन्जिनियर लगायत विभिन्न पदमा कार्यरत छन् र मोलुङ तथा सुनकोशी गाउँपालिकामा कार्यरत कर्मचारी हुन्।
कर्मचारीहरूले सेवा र जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पदीय मर्यादाको सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको यो कदमलाई निर्वाचन प्रक्रियाप्रति उत्तरदायी व्यवहारका रूपमा हेरिएको छ भने पदीय मर्यादाको विषयमा प्रशासनिक तहमा थप बहस र सुधारको आवश्यकता औंल्याएको छ।




प्रतिक्रिया