नयाँ बर्षको सुरुवात सँगै काठमाडौं ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

नयाँ बर्षको सुरुवात सँगै काठमाडौं ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला


काठमाण्डौ । नयाँ बर्षको सुरुवात सँगै काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला हुने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आचारसंहिता बनाएर ती क्षेत्रलाई आज नयाँ वर्षको पहिलो दिनदेखि चौबीसै घण्टा सञ्चालन गर्न लागिएको हो । गृहमन्त्री लामिछानेसहित सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज विशेष कार्यक्रम गरी ती क्षेत्र चौबीसै घण्टा खुला राख्ने घोषणा हुँदैछ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी आवश्यक सुरक्षा व्यवस्था कार्ययोजना कार्यान्वयन गरिने बताउनुभयो ।

आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने, उपभोक्ताले पालना गर्नुपर्ने, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख छ । ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि चौबीसै घण्टा खुला गर्न लागिएको बताउनुभयो । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले चौबिसै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।