प्रिमियर कप : पहिलो खेलमा नेपालको जित

प्रिमियर कप : पहिलो खेलमा नेपालको जित


काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले सहज जित हासिल गरेको छ।

ओमनको अल अमिरत क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेशियालाई पाँच विकेटले पराजित गरेको हो। मलेशियाले दिएको १४४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ ओभरमा सहजै पूरा गरेको छ।

नेपालका लागि आसिफ शेखले ३२, रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले १९ र सन्दीप जोराले १२ रन बनाए।

त्यस्तै, मलेशियाका लागि वीरनदीप सिंहले तीन, पवनदीप सिंह र मोहम्मद वाफिकले एक/एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको मलेशियाले तीन विकेटको क्षतिमा १४३ रन बनाएको थियो। मलेशियाका लागि वीरनदीप सिंहले ७२, शर्विन मुनियान्डीले ४१ र मुहम्मद अमिरले १६ रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई र अविनाश बोहराले एक विकेट लिए। यो जितसँगै नेपालले दुई अंक जोडेको छ।

नेपालले अर्को खेलमा शनिबार अपराह्न ४:१५ बजे कतारसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको समूहमा मलेशिया, कतार, हङकङ र साउँदी अरेबिया छन्।