उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि कर्णाली अस्पतालमा तनाव

उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि कर्णाली अस्पतालमा तनाव


काठमाडौं । उपचारका क्रममा एक सुत्केरी महिलाकोको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त भएको छ।

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २१ वर्षीया भीमा गुरुङको उपचारका क्रममा बिहीबार मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकलाई कारबाहीको माग गरेका छन्। चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण सामान्य बिरामीको मृत्यु भएको भन्दै उनीहरुले चिकित्सकलाई कारबाही माग गरेका हुन्।

उनको परिवारका अनुसार सात महिनाअघि छोरी जन्माएकी भीमा को पाठेघर सफा गर्नुपर्ने भएकाले गुरुङ अस्पताल पुगेकी थिइन्। चिकित्सकले सामान्य अवस्था भनेकै केही समयमा मृत घोषणा गरेको मृतकका आफन्तको आरोप छ।

अस्पताल प्रशासनले पनि मोलार प्रेग्नेन्सी अर्थात् पाठेघरमा सालनालको केही अंश सफा गर्न आएका बेला उनको स्वासप्रश्वासमा पनि समस्या देखिएको र चिकित्सकको प्रयासका बाबजुद मृत्यु भएको बताएको छ।

पीडित परिवारले लापरबाहीका कारण मृत्यु भएको बताउँदै लापरबाही गर्ने व्यक्ति र घटनाको पूर्ण विवरण परिवारले पाउनुपर्ने माग रोखेका छन्। अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले घटनाको छानविन भइरहेको जानकारी दिए।