एडीबीको प्रक्षेपण : चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृदिदर ३.३ प्रतिशत हुने

एडीबीको प्रक्षेपण : चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृदिदर ३.३ प्रतिशत हुने


काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३. ३ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले पनि चालु आर्थिक वर्षमा ३.३ प्रतिशतकै प्रक्षेपण गरेको थियो ।

एडीबीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ २०८० सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको समेत जनाएको छ ।

नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले जनाएको छ ।

बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।

एडीबी नेपालका वरिष्ठ अर्थशास्त्री मानवीर खड्काले पछिल्लो समय दक्षिण एसियाली मुलुकअन्तर्गत भारत र बङ्गलादेश उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको जानकारी दिँदै बाँकी अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र सन्तोषजनक रहेको बताए ।

एडीबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले विश्व अर्थतन्त्रमा देखिएको शिथिलतका कारण नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पर्यटन तथा विप्रेषण क्षेत्र प्रभावित हुनसक्ने जोखिम रहेको उल्लेख गर्दै गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवं समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।