भैरवनाथको रथ तान्ने क्रममा भाँचियो

भैरवनाथको रथ तान्ने क्रममा भाँचियो


भक्तपुर । रथ तान्ने क्रममा भैरवनाथको रथ भाँचिएको छ। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको हो ।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरले जनाएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ ।

मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर, चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःहिटी पुर्याउन सकिएन ।

रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने अनुमान छ । रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउनु पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको छ ।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ ।