वैज्ञानिक अध्ययन अनुशन्धान बिना सम्विृद्धि,विकास र समाववादको कल्पना गर्न सकिदैन : स्वास्थ्यमन्त्री यादव

वैज्ञानिक अध्ययन अनुशन्धान बिना सम्विृद्धि,विकास र समाववादको कल्पना गर्न सकिदैन : स्वास्थ्यमन्त्री यादव


काठमाडौं । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अध्ययन अनुशन्धान बिना सम्विृद्धि विकास र समाववादको कल्पना गर्न नसकिने बताउनु भएको छ । काठमाडौंमा आजबाट सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने वैज्ञानिक अनुसन्धानले स्वास्थ्य क्षेत्रको सुधार गरी समाजवादमा जान टेवा पुग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘वैज्ञानिक अध्ययन अनुसन्धानबिना समृद्धि, विकास र समाजवादको कल्पना पनि गर्न सकिन्न तसर्थ आफ्नो देश, समाज अनुकुल निति निर्माण तथा अनुशन्धानबाट प्राप्त तथ्य र नयाँ अन्वेषणको महत्वपुर्ण स्थान रहन्छ आफ्नो स्थापना कालदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानहरूलाई नियमन गर्नु र गुणस्तरीय अनुसन्धानहरूलाई प्रोत्साहन गर्नका लागि वातावरण तयार पार्न यस बाट प्राप्त तथ्य तथ्याङ्कहरुका आधारमा स्वास्थ्य सम्बन्धी नीति योजना र कार्यक्रम तर्जुमा कार्यान्वयन गर्न खोजेको भूमिका प्रशंसानीय छ, तसर्थ शिखर सम्मलेनबाट प्राप्त तथ्यको नीति निर्माणमा महत्वपूर्ण स्थान रहन्छ ।’

मन्त्री यादवले एनएचआरसीको अनुसन्धानले दिगो विकासको लक्ष्य प्राप्तीमा सयोग पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो । स्थापना कालदेखि नै यसका लागि परिषद्ले भूमिका खेल्दै आएको भन्नुहुँदै प्रशंसा समेत उहाँले गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा निर्माण गर्ने स्वास्थ्य नीतिका लागि सम्मेलनबाट प्राप्त सुझाव मार्गनिर्देशन हुने बताउनुभयो ।

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको उद्घाटन गर्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलनले प्रतिभा पलायनबाट रोक्न नेपाल सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘स्वास्थ्य र जनसंख्या क्षेत्रमा देशभित्रै अधिकतम ज्ञान र सीपको अभिवृद्धि गर्न, यथेस्ट अध्ययन तथा अनुसन्धानको वातावरण तयार गर्न, प्रतिभा पलायन रोक्न तथा सार्वजनिक स्वास्थ्यमा आम जनताको पहुँच स्थापित गर्न सरकारले चाल्नुपर्ने कदमबारे यस शिखर सम्मेलनले समयसापेक्ष उपयुक्त सुझाव दिनेछ ।’,

नेपालको स्वास्थ्य सेवालाई सर्वसुलभ र आधुनिक बनाउन ठोस राय पनि शिखर सम्मेलनले दिनसक्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले परिषद्ले वैज्ञानिक खोज अनुसन्धानलाई प्रभावकारी बनाउँदै स्वास्थ्य क्षेत्रलाई नै समुन्नत बनाउनुपर्ने बताउनुभयो ।

‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नयाँ खोज तथा अनुसन्धानको माध्यमबाट स्वास्थ्य क्षेत्रलाई अझ समुन्नत बनाउँदै लैजानु आजको आवश्यकता हो’, उहाँले भन्नुभयो ।

परिषद्ले महामारी कोभिड १९ को नियन्त्रण गर्न खेलेको भूमिका प्रशंसा गर्नुभयो । विशेषगरी परिषद्ले नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रमा गरेको अनुसन्धानले राष्ट्रिय नीति बनाउन योगदान पुर्‍याएको पनि बताउनुभयो ।

योजना आयोगका सदस्य प्रा. डा. शिवराज अधिकारीले परिषद् र आयोग मिलेर पाँच वर्षे योजना बनाई थप परिस्कृत अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो । त्यसका लागि योजना आयोग सधैँ तत्पर रहेको र योजना निर्माणका लागि आयोगमा आउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले पहुँच भएका क्षेत्र तथा वर्गमा मात्र सम्मेलन एवम् अनुसन्धानका निष्कर्ष पुर्‍याउने नभएर सबै क्षेत्र र वर्गमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

यस सम्मेलनबाट निति निर्माण तहमा सहयोग पुग्नुमा साथै अनुशन्धाकर्ताहरुलाई पनि सहयोग पुग्ने अपेक्षा आफुले राखेको प्रा. डा.अधिकारीले बताउनुभयो

परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले स्वस्थ तथा समृद्ध राष्ट्र निर्माणमा स्वास्थ्य अनुसन्धान परिषद्को महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

सदस्यसचिव डा. जोशीका अनुसार यस परिषद्ले १० हजार बढी वैज्ञानिक अनुसन्धानका लागि स्वीकृति प्रदान गर्नुका साथै १५०० भन्दा बढी वैज्ञानिक लेखहरू प्रकाशन गरेको छ । त्यस्तै जारी शिखर सम्मेलनका ३५७ वटा लेखहरू प्राप्त भएको उहाँले बताउनुभयो । तीमध्ये ५७ वटा लेखलाई मौखिक प्रस्तुतिकरणका लागि छनोट गरिएको छ । त्यस्तै २६३ वटा लेख प्रस्तुतिकरणका लागि छनोट भएका छन् । त्यस्तै डा. जोशीका अनुसार सम्मलेनमा २० जना स्वदेशी तथा विदेशी वैज्ञानिकहरूलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको छ ।

नेपालको स्वास्थ्य प्रणाली, स्वास्थ्य नीति, वित्तीय स्वास्थ्य, औषधि तथा परीक्षणको अभ्यास, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायत १५ वटा भन्दा बढी विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपालसहित भारत, स्वीजरल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकका वैज्ञानिकको सहभागिता रहेको सदस्यसचिव डा। जोशीले बताउनुभयो ।

काठमाडौंमा आज बाट सुरु भएको यो सम्मेलन आगामी तीन दिनसम्म सञ्चालन हुनेछ ।