काठमाडौं । केही समययता नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागि रहेको छ । सुनको भाउ प्रत्येक दिन नयाँ कीर्तिमानी राखिरहेको छ । बिहीबार मात्रैसुनको मूल्य प्रतितोला हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा पछिल्लो समय सुनमा लगानी गर्नेहरु बढेको देख्न सकिन्छ । सेयर बजारको उतारचढाव र अर्थतन्त्रमा हुने अनिश्चितताका कारण पनि सुनमा लगानीलाई सुरक्षित मानिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको हलचलले सुनको मूल्य उच्च निच भइरहन्छ । डलरको तुलनामा रुपैयाँको भाउ घट्नु सुनको भाउ बढ्नुको कारण पनि हो । यस बाहेक अरु पनि धेरै कारणले सुनको भाउ तलमाथि भइरहेको हुन्छ ।
विश्वभरको सुनको मूल्य लन्डन बुलियन मार्केटले निर्धारण गर्छ । यो संसारमा सुनको कारोबारको प्रमुख मञ्च हो । विश्वका ठूला सुन खानी व्यवसायी र उद्योगीहरू लन्डन बुलियन मार्केटसँग जोडिएका छन् । अहिले यो बजारमा सुनको भाउ उकालो लागेको छ, जसको असर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । विश्वव्यापी रूपमा युद्धको अवस्थाले पनि सुनको मूल्यमा असर गरेको समाचारमा उल्लेख छ ।
सामान्यतया भनिन्छ कि जब तपाईंसँग पैसा हुन्छ, तपाईंले सुन किन्नु पर्छ। तर, लगानी छोटो अवधिका लागि भएमा सुन किन्नु राम्रो निर्णय नभएको विश्वास गरिन्छ ।
पछिल्लो दुईरतीन वर्षमात्रै विश्व अर्थतन्त्रले विभिन्न किसिमका अवरोध खेप्यो । कोरोना महामारीले लामो समय विश्व अर्थतन्त्र ठप्प रह्यो । त्यसलगत्तै युक्रेन-रसिया र इजरायल-प्यालेस्टिन युद्ध सामना गरिरहेको छ । आपूर्ति प्रणाली प्रभावित बनेको छ ।
जसले गर्दा लगानीकर्ता अन्य व्यवसायभन्दा सुनमा आकर्षित भएका छन् । लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्रको रूपमा अंगाल्दै लगानी बढाएका छन् । युद्धले प्रत्यक्ष असर नगर्ने र सुरक्षित ‘कमोडिटी’ भएका कारण सुन खरिद गर्नेको संख्या बढ्दो छ ।
मानिसहरू सुरक्षित लगानीको विकल्प खोजिरहेका छन् । ऐतिहासिक रूपमा सुनलाई सुरक्षित लगानीका रूपमा लिइन्छ । नेपाल-भारतलगायत एशियाली देशहरूमा सुनलाई पूँजीका रूपमा हेरिन्छ, तर अन्य देशहरूमा सुनलाई लगानीको रूपमा हेरिन्छ ।
सुनको भाउ निरन्तर उकालो लाग्ने हो भने धेरैले आफ्नो सुन बेच्ने सोच्न सक्छन् । तर, त्यसो गर्नबाट जोगिनु पर्ने विज्ञहरू बताउँछन् । जहाँसम्म सेयर बजारको सवाल छ, त्यसको मूल्य बढेपछि हामी सेयर बेच्न सक्छौँ, तर सुनलाई त्यसरी हेर्नु हुँदैन। केही समय पर्खनुपर्छ, त्यसो गर्नु नै बुद्धिमानी हुन्छ।
विगत २० वर्षलाई हेर्दा सुनको भाउ लगातार बढिरहेको छ । यसको एउटा कारण बजारमा सुनको माग बढेको पनि हो ।
अन्तर्राष्ट्रिय वित्तीय फर्म जेपी मोर्गनको अनुमान अनुसार सुनको भाउ अझै बढ्न सक्छ । सन् २०२५ सम्म सुनको भाउ बढ्ने अनुमान गरिएको छ ।
एजेन्सीको सहयोगमा



प्रतिक्रिया