२०८१/०८२ का लागि बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाटमा नआउन अर्थ मन्त्रालयको आग्रह

२०८१/०८२ का लागि बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाटमा नआउन अर्थ मन्त्रालयको आग्रह


काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआउन आग्रह गरेको छ ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरे । ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, खत्रीले भने, ‘तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’