काठमाडौ । एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएर नजिता पर्खिरहेका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको बताएकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा उनले नजिता पर्खिरहेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।
‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए । तर, उनीहरूले नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । यस प्रकारको चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाहीसमेत माग गर्दछु,’ उनले भनिन् ।
उनले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाई क्लस्टरिङ बेसिसमा कपी जाँच गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशन गर्ने प्रणाली विकाश गर्न त्रिविको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।



प्रतिक्रिया