काठमाडौं । तपाईं हामीलाई प्रायः लाई थाहा नै छ होला वडाध्यक्ष भएपछि उसका काम,कर्तव्य र जिम्मेवारीहरु के के हुन्छन् भन्ने ? एउटा वडाध्यक्षको हिसाबले उसले विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु, वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्नु, गर्न लगाउनु तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेश गर्नु उसको प्रमुख जिम्मेवारी भित्र पर्दछ ।
तर मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हेम कुमार थिङ्गले भने आफैँले विभिन्न जिम्मेवारीहरु बहन गर्नुका साथसाथै आफैं एम्बुलेन्स चालक बनेर आफ्ना वडाका नागरिकको सेवामा तत्पर भएका छन्। वडाध्यक्ष थिङ्गले भने आफ्नो वडाको स्वास्थ चौकीमा रहेको एम्बुलेन्स आफैंले चलाएर आफ्ना वडाका कयौं बिमारीहरुलाई लिएर थाहा नगरपालिकाको पालुङ, शिखरकोटमा रहेको अस्पताल र कहिलेकाही गम्भीर बिरामी भएकाहरूलाई देशको राजधानी काठमाडौको विभिन्न अस्पताल सम्म पुर्याएका छन् ।
गाउँको आग्रा स्वास्थ चौकीमा उपचार सम्भव नभएका र गम्भीर प्रकृतिका विरामीहरुलाई उपचारका लागि वडाध्यक्ष थिङ्ग आफैले एम्बुलेन्स चलाएर अस्पताल पुर्याएका हुन् ।
एम्बुलेन्स चालक बिमारी भएकाले आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल लगेको वडाध्यक्ष हेम कुमार थिङ्गले बताए।
उनले भने, “ आग्रा स्वास्थ चौकीका एम्बुलेन्स चालक आफैं बिरामी परेपछि बिरामीको बिचल्ली भएको भयो, त्यसैले चालक नहुँदा म आफैँले एम्बुलेन्स लिएर अस्पताल पुर्याएँ, र बिरामीले समयमै उपचार पाउन सम्भव भयो ।”
आफैं एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आफैंले साहस गरेर बिरामी लिएर पालुङ र काठमाडौँका विभिन्न अस्पतालमा पुगेको वडाध्यक्षले बताए ।
आफ्ना वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैले एम्बुलेन्स चलाएर लैजाँदा केही नहुने सोचेर चर्चामा आउनका लागि भन्दा पनि सेवामुलक भावले आफु एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष थिङ्गले बताए।
उनले भने “ आफ्नै वडाका जनताका लागि आफुले सकेको जानेको सकेको सहयोग र काम गर्ने प्रतिबद्धताका साथ मत मागेर मैले चुनाव जितेको हो, तिनै जनताको आशा,भरोसा र मतको सम्मान गर्दै आफुले सकेको सहयोग गर्नु मेरो दायित्व र कर्तव्य ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर आफ्ना वडाका बिरामीहरुलाई अस्पताल पुर्याएको हुँ ।”



प्रतिक्रिया