फ्रेन्च महिला लिगमा साम्बाको डेब्यु गोल

फ्रेन्च महिला लिगमा साम्बाको डेब्यु गोल


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गरेकी छन् । शनिवार भएको उक्त खेलमा उनले डेब्यु गोल गरेकी हुन् ।

साम्बा युरोपको शीर्ष पाँच लिगको शीर्ष डिभिजनमा आबद्ध हुने नेपालकी पहिलो र एकमात्र खेलाडी हुन्। साम्बाले इए गुइगाम्पका लागि खेलिरहेकी छन् । सो क्रममा उनले लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् ।

वैकल्पिक खेलाडीको रुपमा खेलको ८६ औँ मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी समयमा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल भने एन्टोनिए स्टारोभाले गरेकी थिइन् । स्टारोभाले ५२औं मिनेटमा गोल गरेकी थिइन् ।

सावित्राले विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै वान भर्सेस वनमा उत्कृष्ट फिनिस गरेकी थिइन् । यो जितपछि ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । उसले १६ खेलमा १५ अंक जोडेको छ । ग्वेंगाम्प अब रेलिगेसन जोनबाट ७ अंकले माथि छ ।

गोल मशीन उपनामले चर्चित महिला राष्ट्रिय टोलीकी खेलाडी सावित्रा भण्डारीले भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि खेल्दै नयाँ कीर्तिमान समेत बनाउन सफल भएकी छन्। क्लबसँगको सम्झौताका कारण साम्बाले वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल गुमाएकी थिइन्। साम्बा फिफा विन्डोको खेल नभएका कारण साफ फाइनल गुमाउँदै फ्रान्स पुगेकी थिइन्। साम्बाले वाफको सेमिफाइनलसम्ममा ९ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन्।  साम्बा एक्लैले इराकविरुद्ध पाँच गोल गरेकी थिइन् ।

भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि खेल्दै उनी फ्रान्स फर्किएकी थिइन् । यही खेलका लागि सावित्राले बिहीबार जोर्डन विरुद्धको फाइनल खेल समेत छाडेकी थिइन् ।

त्यस्तै सावित्राले युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी छन् ।