बिरगंजमा राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय उद्वघाटन सम्पन्न

बिरगंजमा राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय उद्वघाटन सम्पन्न

संगिता अधिकारी

बिरगंजमा राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय उद्वघाटन  कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ पर्सा जिल्ला शाखा कार्यालयको बुधवार एक कार्यक्रमका बिच उद्घघाटन भएको थियो ।बिरगंज महानगरपालिका वडा न. ८ ब्यारेकको पुर्व पानीट्याङ्की स्थित कार्यालयको प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सुन्दर विश्वकर्माले उद्घघाटन गर्नु भएको थियो ।

संघका जिल्ला अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको कार्यालय उद्घघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विश्वकर्माले जाततन्त्र राजतन्त्र भन्दा पनि खतरा रहेको बताए । राजतन्त्र अन्त्य भएपनि समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल हुन नसक्दा दलित समुदाय उपेक्षामा पर्दै आएको विश्वकर्माको भनाई छ । विगतमा अपमानपूर्वक हुने विभेदको स्वरुप परिवर्तन भएर सम्मानपूर्वक विभेदको रुप लिएको प्रदेश सभा सदस्य विश्वकर्माले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागीता बढाउनका लागि सरकारले दलित आरक्षणको व्यवस्था गरेको बताए । समयको विकास क्रमसँगै मानिसको मानसिकता पनि विकास हुने क्रममा रहेको हुँदा विस्तारै जातिय व्यवस्था व्यवहारिक रुपमा पनि अन्त्य हुने पौडेलको विश्वास छ ।

त्यसैगरी बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले जातिय विभेदको विरुद्धमा जनतालाई जागरुप बनाउनुपर्नेमा जोड दिएका छन् । दलित पत्रकार संघसँग सहकार्य गरेर जातीय व्यवस्थाको विषयमा बहस गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न संघलाई सुझाव दिँदै संघका हरेक गतिविधिमा सहयोग गर्ने पनि डा. गुप्ताले प्रतिबद्धता जनाएका छन् ।
समाजको तिथो यथार्थको विरुद्धमा दलितका आवाजलाई दलित पत्रकारले नै उठान गर्नुपर्नेमा गुप्ताको जोड थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेदजस्ता विकृतीको अन्त्य नहुने बताए ।

यस्तै पहुँचमा पुगेका दलितहरु नै शासक बन्दा पनि दलित समुदायको उत्थान हुन नसकेको नेकपा माओवादी केन्द्र बिरगंज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको धारणा छ । निर्वाचित जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि एवम् बाहिर समानताका कुरा गर्नेहरुले नै छुवाछुत र जातीय विभेदलाई अंगीकार गर्दा परिवर्तन हुन नसकेको भन्दै अन्सारीले चिन्ता व्यक्त गरे ।

जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले देशमा अँझै पनि जातीय विभेदको विषयमा बहस हुनु दुखद विषय भएको बताए । समानता र समावेशिताको विषयमा जसपाले विगतदेखि नै आवाज उठाउँदै र दलितलाई पनि अवसर प्रदान गर्दै आएको अहमदको दावी छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताए । अरुका आवाज उठाउने पत्रकारहरु आफै कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने सोच्नुपर्ने विषय भएको बताउँदै लामिछानेले आफूलाई ठूलो मिडिया हाउस भन्नेहरुले पनि न्युनतम पारिश्रमिक समेत लागु नगरेको बताए ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य गया हजरा पासवान, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, माओवादी केन्द्र प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठा, नेकपा एकीकृत समाजवादी पार्टी बिरगंज महानगर अध्यक्ष मनोज चौधरी, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ की कोषाध्यक्ष सावित्री शर्मा , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामि , सर्वराष्ट्रिय दैनिकका प्रकाशक सम्पादक महेशचन्द गौतम , नेपाल पत्रकार महासघ प्रदेश न.२ का पुर्व सदस्य जगत राई , दलित पत्रकार संघ पर्साका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

संघका सल्लाहकार बृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त र कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।