काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि चाहिने आवश्यक मापदण्ड परिवर्तन गरेर खुकुलो बनाएको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई खुकुलो पारिएको हो ।
त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल भने यी दुवै विषय प्रयोगात्मक नभएकाले मापदण्ड परिवर्तन गरिएको तर्क गर्छन् । यी विषय साहित्यिक भएको र स्नातकोत्तर पढ्दा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
‘साहित्यिक विषय अरु विषय पढेकाले पनि पढ्न सक्ने भएका छन् । अरु विषय प्रयोगात्मक भएकाले आधारभूत आधार आवश्यक हुन्छ । तर, नेपाली र अङ्ग्रेजी साहित्य विषय भएकाले सक्नेछन्’, रजिष्ट्रार दाहाल भन्छन्, ‘विषयगत समिति र सङ्कायको सिफारिसपछि प्राज्ञिक परिषद्ले निर्णय गरेको हो ।’
त्रिवि नेपाली विभागका प्रमुख प्रा।डा। खगेन्द्रप्रसाद लुइँटेलले अब त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न पाउने बताए । त्रिवि अङ्ग्रेजी विभागका प्रमुख प्रा. डा. जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अब अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउनेछन् ।
मापदण्ड अनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा सोसरह अङ्ग्रेजीसहित कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ । यस्तै अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।



प्रतिक्रिया