काठमाडौं । गाजामा इजरायल र हमास समूहबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने र इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्ने सहमति भएको छ ।
हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गरेको कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताएका बीबीसीले जनाएको छ ।
उनका अनुसार चार दिनभित्र सहमति भएका जम्मा ५० जनालाई रिहा गरिने छ । कतार, इजिप्ट र अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ ।
यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ । इजरायली अधिकारीहरूले हमासको आक्रमणबाट १ हजार २ सय व्यक्तिहरू मारिएको र लगभग २ सय ४० जनालाई बन्धक बनाइएको बताएका छन् ।
गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।



प्रतिक्रिया