जाजरकोटमा भएको भूकम्पको क्षतिको शोकमा मौनधारण र पाखुरामा कालो पट्टी बाँधेर खेलाडीहरू त्रिवि मैदानमा

जाजरकोटमा भएको भूकम्पको क्षतिको शोकमा मौनधारण र पाखुरामा कालो पट्टी बाँधेर खेलाडीहरू त्रिवि मैदानमा


काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार गएको भूकम्पले पुर्‍याएको क्षति र ज्यान गुमाउनेहरूको सम्झनामा त्रिवि क्रिकेट मैदानमा मौनधारण गरिएको छ।

टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि नेपाल र ओमान बीचको खेल सुरू हुनुपूर्व त्रिवि मैदानमा एक खेलाडी र दर्शकहरूले एक मिनेट मौनधारण गरेका हुन्।

भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली खेलाडीले पाखुरामा कालो पट्टी बाँधेर खेलेका छन्।

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पाखुरामा कालो पट्टी बाँधेका छन्।

नेपाल र ओमानबीचको फाइनल खेल हेर्न त्रिवि मैदाना ठूलो संख्यामा दर्शकहरूको उपस्थिति छ। टस जितेको नेपालले ओमानविरूद्ध ब्याटिङ गरिरहेको छ।

आजको खेलको टिकट बिक्रीबाट उठेको रकमको पचास प्रतिशत जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहतस्वरूप प्रदान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै घोषणा गरेको थियो।

शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ।