उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताएका छन् ।
स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताए ।‘सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
आफू नियम भन्दा बाहिर गएर काम नगर्ने भन्दै उनले सरुवा बढुवाका लागि कसैको भनसुन नमान्ने पनि बताए । ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
उनले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने पनि दाबी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यको अनुसन्धान खेर नजाने पनि उनले बताए । ‘हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन । राज्यका अरु अंगहरुले पनि सकारात्मक निर्णय गर्नेछ भन्ने आशा गर्नैपर्छ । हामीले एक दुई वटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौं’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
प्रतिक्रिया