काठमाडौँ — सरकारले अटिजम भएका बालबालिकाको विशेष शिक्षा र हेरचाहका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
शिक्षा मन्त्री सस्मित पोखरेलले हरेक बालबालिका बुझाइ, सहायता र उन्नतिको समान हकदार भएको उल्लेख गर्दै उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सरकारले सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ, उनले भनेका छन्, यसलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिइएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी एक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस परियोजनाका लागि विभिन्न मन्त्रालयहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नेछ ।
शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको कार्यढाँचा तय गर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाको स्वास्थ्योपचार र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्बन्धित क्षेत्रमा कार्यरत संस्थाहरूसँग समन्वय गर्नेछ ।
सरकारले केही वर्षयता बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय सञ्चालन गर्ने कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । बिहीबारको कार्यक्रममा ती निर्माणाधीन विद्यालयहरूको प्रगति विवरणबारे पनि प्रस्तुतीकरण गरिएको थियो ।
अटिजम भएका बालबालिकाका लागि छुट्टै र सुविधासम्पन्न आवासीय विद्यालय नहुँदा अभिभावकहरूले झेल्दै आएको समस्यालाई यो कदमले केही हदसम्म कम गर्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया