स्वास्थ्य विज्ञहरुले सरकारलाई अध्ययन अनुसन्धानमा आधारित रहेर स्वास्थ्य नीतिहरु निर्माण गरिनुपर्नेमा जोड दिएका छन्।
‘पत्रकारका लागि चिकित्सकीय अनुसन्धान’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा यस्तो सुझाव दिइएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रदीप ज्ञवालीले राज्यले स्वास्थ्य नीति बनाउनुपूर्व अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सोही आधारमा नीति निर्माण गर्दा बढी प्रभावकारी रहने उहाँको भनाई छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन् संस्थान आईओएम का सहप्राध्यापक डा खेम बहादुर कार्कीले कुनै पनि औषधि वा खोपको अन्तर्राष्ट्रिय अध्ययनको निस्कर्षलाई अन्तिम निचोड बनाएर सूचना प्रकाश गर्नुपूर्व कुन चरणको ट्रायल हो भन्ने सम्बन्धी पनि बुझ्न आवश्यक रहेको बताउनुभयो ।
चिकित्सकीय अनुसन्धान र यसले स्वास्थ्य क्षेत्रका लागि दिने योगदानको चर्चा गर्दै सञ्चारमाध्यमले विषय बस्तुको गाम्भिर्यतालाई समेत ध्यान दिनु पर्ने उहाँको भनाई छ ।
अनुसन्धानमा सहभागिता भएका स्वयंसेवकहरुको गोपनीयताका विषय, अनुसन्धानको प्रकार तथा तरिकाका विषयमा समेत सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
यस्तै, परिषदका इथिकल रिभ्यु बोर्डका अध्यक्ष डा। रमेश कान्त अधिकारीले भने कुनै पनि अध्ययन अनुसन्धान गर्दा त्यसको नैतिकतालाई भुल्न नहुने उल्लेख गर्नुभयो ।
कार्यशालाको पहिलो दिन सोमबार उद्घाटन सत्रमा बोल्दै मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुको ज्ञानको दायरा बढाउनका लागि कार्यशालाको आयोजना गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य विषय बढी प्राविधिक विषय रहेको भन्दै भविस्यमा पनि विभिन्न संस्थासंग सहकार्य गर्दै यस्ता खालका तालीम गोष्ठी र प्रशिक्षणलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
सोमबार र मंगलबार स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा धुलिखेलमा सो कार्यक्रम आयोजना गरिएको थियो। स्वास्थ्य पत्रकार मञ्च नेपालले सरोकारवालाको यहि गुनासो र स्वास्थ्य पत्रकारहरुको चासोलाई ध्यान दिएर दुई दिने कार्यशालाको आयोजना गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्संगको सहकार्यमा धुलिखेलमा आयोजित कार्यशालालाई प्राविधिक तर्फ सोलिड नेपालको सहयोग थियो ।
प्रतिक्रिया