विराटनगर— श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले जेनजी आन्दोलनबारे गठित कार्की आयोगको प्रतिवेदन निष्पक्ष रूपमा कार्यान्वयन गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले आन्दोलनका नाममा भएका उच्छृङ्खल गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
साम्पाङले डिस्कर्ड जस्ता माध्यमबाट योजना बनाएर विद्यार्थीलाई स्कुल ड्रेसमै आन्दोलनमा उतार्ने, गोली चलाउने र सार्वजनिक सम्पदा जलाउने कार्यमा संलग्न सबैलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन्।
‘सत्य कुरा गर्दा जति गाली खान परे पनि खान तयार छु’, उनले लेखेका छन्, ‘म झूटो समाजलाई सत्यवादी बनाएर सतीको श्रापबाट मुक्त गर्न चाहन्छु। जेनजीलाई मात्र होइन, यो देश र डढेको सिंहदरबारका भित्ताहरूलाई पनि न्याय मिल्नुपर्छ। कतै पनि विभेद हुनु हुँदैन।’
हालै गृह मन्त्रालयले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसरलाई बुझाएपछि साम्पाङको यस्तो प्रतिक्रिया आएको हो।



प्रतिक्रिया