काठमाडौँ — बैंकिङ प्रणालीमा अधिक तरलता, लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आइतबार पुनः ४० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको हो ।
हाल कुल निक्षेप ७७ खर्ब रुपैयाँ नाघिसकेको अवस्थामा ब्याजदरलाई स्थिर राख्न र तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् भने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ । रकमको सावाँ तथा ब्याज भुक्तानी २०८३ वैशाख ६ गते गरिनेछ।
राष्ट्र बैंकका अनुसार ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकहरूलाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गरिने कार्यविधि रहेको छ ।
वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिएमा त्यसको व्यवस्थापन गरी ब्याजदर व्यवस्थित गर्न संरचनात्मक खुला बजार कारोबारअन्तर्गत ६ महिनासम्मको निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरूमा निक्षेपको थुप्रो लागे पनि कर्जा प्रवाह सुस्त हुँदा प्रणालीमा तरलता बढेको हो । यसअघि पनि राष्ट्र बैंकले पटक-पटक निक्षेप सङ्कलन र स्थायी निक्षेप सुविधामार्फत बजारबाट पैसा खिच्दै आएको थियो ।



प्रतिक्रिया