काठमाडौँं । संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमा बस्न लागेको छ । प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक सिंहदरबारमा निर्माणाधीन भवनमा बस्न लागेको हो ।
सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ चैत १२ गते दिउँसो हुने तय भएको छ ।
२०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो । राष्ट्रिय सभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रूपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।
निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्ने जनाएको हो । यसैबीच, नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने तय भएको छ ।



प्रतिक्रिया