सन्दीप नहुँदा अरु खेलाडीले जिम्मेवारी लिनुपर्छ

सन्दीप नहुँदा अरु खेलाडीले जिम्मेवारी लिनुपर्छ


राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले युएईमा हुन लागेको आइसीसी विश्वकप लिग टू सिरिजमा प्रमुख स्पिनर सन्दीप लामिछाने नहुने भएपछि अन्य खेलाडीले जिम्मेवारी लिनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसित कुरा गर्दै उनले अन्य बलर तथा स्पिनरले टिममा सन्दीपको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘सन्दीप टिमको महत्वपूर्ण बलर हो । ४ खेलमा १३ विकेट लिनुभएको थियो । उहाँले महत्वपूर्ण अवस्थामा विकेट निकाल्नुहुन्थ्यो । उहाँ नहुँदा फरक त पर्छ नै तर अब अन्य सिनियर बलर स्पिनरहरुले त्यो भूमिका पूरा गर्नुपर्‍यो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम पपुवा न्युगिनीसमेत सहभागी हुने त्रिकोणात्मक शृंखला खेल्न शनिबार युएई जाँदै छ । नाबालिक बलात्कारको आरोप लागेको सन्दीप लामिछानेलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई टिममा समावेश गरेको छैन ।

नेपाली टिमले लिग टूमा अब युएईको भूमिका ४ र घरेलु मैदानमा ४ वटा खेल खेल्न बाँकी छ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगका सबै चार खेल जितेको नेपालले बाँकी सबै खेललाई फाइनल जसरी खेल्ने पौडेलले बताए ।

हाम्रो लागि हरेक खेल फाइनल हो । युएईको विकेट कन्डिसन फरक हुन्छ । त्यहि अनुसार योजना बनाइरहेका छौं । आशा छ त्यो योजना मैदानमा लागु गर्न सकौैं र खेल जित्न सकौं उनले भने ।

युएई भ्रमणका लागि तयारी गर्ने खासै समय नेपाली टिमसित छैन । मंगलबार मात्रै सिरिज सकेर बसेको टिम शनिबार नै युएई जाँदै छ । त्यसैले टिमले अहिले मानसिक तयारी गरिरहेको उनले बताए ।

हामीसँग समय कम छ, त्यसैले हामी मानसिक रुपमा तयार हुँदैछौं । नयाँ बल कसरी खेल्ने, ओपनर र मध्यक्रमको ब्याटरले कस्तो भूमिका निर्वाह गर्ने योजना बनाउँदैछौं, उनले भने, आशा छ योजनाले सोचेअनुरुप काम गरेर हामीले खेल जित्नेछौं ।