रास्वपाका सांसद जनप्रतिनिधिको भूमिकाबारे जानकारी लिँदै

रास्वपाका सांसद जनप्रतिनिधिको भूमिकाबारे जानकारी लिँदै


ललितपुर । रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षित गर्न दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम थालेको छ । परिवर्तनको नेतृत्व, परिणामको राजनीति भन्ने मूल नाराका साथ ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
जनताको विश्वासलाई सार्थक बनाउँदै सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, सुशासन, पारदर्शिता र जनप्रतिनिधिको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिनेछ।
कार्यक्रमको पहिलो दिन आज पार्टी नेतृत्वबाट औपचारिक उद्घाटन गरिनेछ। त्यसलगत्तै पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले मन्तव्य राख्नुका साथै देशको वर्तमान अवस्था र सांसदको भूमिकाबारे प्रस्तुति दिनेछन्। अर्का उपसभापति डोलप्रसाद अर्यालले चुनावी अभियानको अनुभव साट्नेछन्।
पहिलो दिनको सत्रमा पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा पूर्व कानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्। यसैगरी, अध्येता डा दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे प्रस्तुति दिनेछिन्। पार्टीका पुराना सांसदहरू अशोक चौधरी, शिशिर खनाल, डा. तोसिमा कार्की, सोवता गौतम, गणेश पराजुलीलगायतले आफ्नो संसदीय अनुभव नवनिर्वाचित सांसदहरूलाई सुनाउनेछन्।

चैत्र ४ गतेको कार्यक्रम बिहान योग तथा ध्यानबाट सुरु हुनेछ। दोस्रो दिन विशेषगरी बजेट र सुशासनमा केन्द्रित रहनेछ। पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले योजना तथा बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनबारे सांसदहरूलाई प्रशिक्षित गर्नेछन्। त्यसैगरी, महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतले नयाँ राजनीतिक संस्कारमा सांसदको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे प्रष्ट पार्नेछन्।
कार्यक्रमको अन्त्यमा सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताहरू स्पष्ट पार्दै समापन मन्तव्य राख्ने जनाइएको छ।