काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गरेकी छन् ।
बबरमहलस्थित जिल्लाप्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणालीबारे जानकारी पनि लिइन् । अवलोकनका क्रममा उनले सेवाग्राहीसँग अन्तर्क्रिया पनि गरिन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवालाई छिटोछरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी दिए ।
सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सेवा लिन सक्ने यो प्रणाली लागू गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उनको भनाइ थियो ।
उनका अनुसार दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन हुने गरेको छ । सेवाग्राहीलाई वाईफाई, तातो पानी र चिसो पानीको पनि व्यवस्था गरिएको छ ।
यस प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेकोमा जोड दिइन् ।



प्रतिक्रिया