काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको हो । तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो ।
आयोगका अनुसार समानुपातिकतर्फ कुल ११० सिटमध्ये सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । रास्वपाको भागमा ५७ सिट परेको छ । नेपाली कांग्रेसले २० सिट पाएको छ भने संसदमा तेस्रो ठुलो दल बनेको नेकपा ९एमाले०ले १६ सिट पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले नौ सिट पाएको आयोगले जनाएको छ ।
चार महिनाअघि मात्रै खुलेको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार चार सिट पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा कुल सदर मतसङ्ख्याको आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेसहोल्ड तीन प्रतिशत पार गरेका कारण छ राजनीतिक दललाई मात्रै समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण गरिएको आयोगले जनाएको छ ।
समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण भएसँगै रास्वपा अब प्रतिनिधि सभामा १८२ सदस्यका साथ सबैभन्दा ठुलो दल बनेको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो ।
प्रत्यक्ष र समानुपातिक सांसदको समेत गणना गर्दा नेपाली कांग्रेस र एमाले संसदमा क्रमशः दोस्रो र तेस्रो ठुलो दल बनेका छन् । नेपाली कम्युनिष्ट पार्टी चौथो ठुलो दल बनेको छ भने श्रम संस्कृति पार्टी पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौँ ठुलो दल बनेको छ ।



प्रतिक्रिया