काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर ९७.१ केजी मात्रै भरेर बिक्री गर्ने योजना बनाएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार सिन्हाले आधा सिलिन्डरको व्यवस्थाबारे छलफल भइरहेको बताए। उनले भने, ‘सामान्य समयकै अनुपातमा ग्यास आयात भइरहेको छ । तर, बजारमा अभाव बढ्दै गएको देखिएकाले यो समस्या समाधान गर्न आधा सिलिन्डरको व्यवस्था गर्नेछौं । यसबारे मन्त्रालयमा छलफल भइरहेको छ ।’
मन्त्रिस्तरीय निर्णय वा नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट यसबारे औपचारिक निर्णय हुने छ । आज साँझ ४ बजे नेपाल आयल निगमको सञ्चालक समितिको बैठक बोलाइएको छ । सम्भवतः यही बैठकले आधा सिलिन्डर भरेर बिक्री गर्ने निर्णय गर्नेछ ।नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले बजारमा ग्यास आपूर्ति सहज बनाउन आधा सिलिन्डरको विकल्पमा छलफल भएको पुष्टि गरे । उनले भने, ‘मन्त्रालय, निगम र अन्य सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालक समितिले यसबारे निर्णय लिनेछ । आधा सिलिन्डर मात्रै भरेर बजारमा पठाउँदा उपभोक्ताले साविकको मूल्यभन्दा आधा मात्रै भुक्तानी गरे पुग्छ ।’
नेपाल आयल निगमका अनुसार हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर रहेका छन्। हाल १४।२ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णयपछि ७।१ केजी ग्यास भरेर बजारमा पठाइनेछ ।
उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय ९स्टक० गरेका कारण बजारमा अभाव देखिएको निगमको बुझाइ छ । ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने र आधा सिलिन्डर मात्र वितरण गर्दा धेरै उपभोक्तासम्म पुग्ने भएकाले अभाव हट्ने निष्कर्ष निगमले निकालेको हो ।
बजार अनुगमन गर्ने वाणिज्य विभागले पनि तत्कालको समस्या समाधानका लागि आधा सिलिन्डरकै नीति लिन निगमलाई राय दिएको छ । निगमले निर्देशन दिएपछि ग्यास उद्योगहरूले अनिवार्य रूपमा सोही बमोजिम उत्पादन गर्नुपर्नेछ। यद्यपि, आधा सिलिन्डर भर्दा उद्योगहरूको सञ्चालन खर्च ९अपरेसन कस्ट० भने दोब्बर हुने देखिन्छ ।
नेपाल ग्यासका म्यानेजर कमल लामिछानेले सरकारको निर्णय मान्न आफूहरू तयार रहेको बताए । उनले भने, ‘विगतका वर्षहरूमा जस्तै ग्यास आयात भइरहेको छ। हामीले दैनिक ५ हजार सिलिन्डर उत्पादन गर्ने ठाउँमा अहिले ७ देखि ८ हजार सिलिन्डर बजार पठाउँदा पनि अभाव हटेको छैन। सामान्य अवस्थामा १०० सिलिन्डर माग्ने डिलरले अहिले ३०० सम्म माग गरिरहेका छन्। आधा सिलिन्डर भर्दा उद्योगलाई घाटा त हुन्छ । तर संकटको समयमा हामी नाफा–घाटा नहेरी सरकारलाई सहयोग गर्नेछौं ।’



प्रतिक्रिया