मध्यपूर्वमा तनावः तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो

मध्यपूर्वमा तनावः तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो


मध्यपूर्व खाडी क्षेत्र मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ ।

एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ ।यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले लगभग बन्द छ ।

इरानको रिभोलुसनरी गार्ड्स ९आईआरजीसी० ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजार पठाउने घोषणा गरे पनि बजारमा देखिएको त्रास कम हुन सकेको छैन ।

विज्ञहरूले यसलाई केवल ‘अस्थायी राहत’ भनेका छन् र जबसम्म आपूर्तिमाथिको खतरा रहन्छ, मूल्य उच्च नै रहने बताएका छन् ।

तेलको मूल्यवृद्धिको असर विश्वभरि देखिन थालेको छ । अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स, थाइल्यान्ड जस्ता एसियाली देशमा इन्धन भर्नेहरूको लामो लाइन लागेको छ ।

ऊर्जा संकट ध्यानमा राख्दै केही देशले सरकारी कामकाजको समय घटाउने र घरबाट काम गर्नेजस्ता उपाय अपनाउन थालेका छन् ।