विभिन्न देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल

विभिन्न देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल


काठमाडौँ। प्रधानमन्त्री बालेन शाह र विभिन्न देशका राजदूतसँग सामूहिक छलफल भएको छ । शाह नेतृत्वको सरकार गठन भएपछि सिंहदरबारमा विदेशी कूटनीतिज्ञसँग पहिलो पटक सामूहिक भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको सो छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले यो बैठक आयोजना गरिएको हो ।

छलफलका क्रममा सहभागी राजदूतले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गरेका थिए । सो क्रममा प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव निरन्तर रहने विश्वाससमेत व्यक्त गरेका थिए ।